काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले आज बिहान ६ः३० बजेदेखि उद्धारका लागि उडान सुरु भएको र अहिलेसम्म १५ भन्दा बढी उडान भइसकेको जानकारी दिएका छन्। थप हेलिकोप्टरहरू पनि उडानका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन्।
नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेको उनले जानकारी दिएका छन्। टिमुरेकै टनेलबाट थप ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहका अनुसार विपद् प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री द्रुत रूपमा पुर्याउने काम भइरहेको छ। प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुंगा काट्ने मेसिनलगायत सामग्री पठाइँदैछ।
छिट्टै प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने उनले बताएका छन्। यसले प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ।
नुवाकोटमा अस्थायी शिविर तयार पारिसकिएको र त्यहाँ खाना तथा पानीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। ड्रोन सर्वेमार्फत प्रभावित सबै क्षेत्रको जानकारी संकलन अन्तिम चरणमा पुगेको र त्यसबाट उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताएका छन्।
हेलिकोप्टरबाट उद्धार गर्दा सुरुमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन्।
उनले विपत्तिको यस घडीमा नागरिकलाई धैर्य र संयम राख्न आग्रह गर्दै उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
‘आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ,’ प्रधानमन्त्री शाहले भनेका छन्। विपद्को सामना गर्न सहयोग गर्ने सबैप्रति उनले धन्यवादसमेत व्यक्त गरेका छन्।



