Oct 30 2026 | २०८३ कार्तिक १४ गते

उद्धारमा जुट्न उद्योग वाणिज्य महासङ्घको अपिल

उद्धारमा जुट्न उद्योग वाणिज्य महासङ्घको अपिल

बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा पुर्‍याएको ठुलो क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित सबैलाई आह्वान गरेको हो।

    बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासङ्घले आग्रह गरेको छ।

    images

    सरकारी निकायले पृथ्वी राजमार्गसहित उक्त कोरिडोरका सडकहरूमा आवागमन रोक्न गरेको आग्रहलाई पालना गर्दै महासङ्घले उद्यमी–व्यवसायी, सर्वसाधारण र यात्रीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

    महासङ्घले आफ्ना मातहतका सम्पूर्ण जिल्ला र नगर उद्योग वाणिज्य सङ्घहरू, वस्तुगत सङ्घहरू र सम्पूर्ण उद्यमी–व्यवसायीहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी तत्काल उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय हुन अपिल गरेको छ।

    बाढीबाट भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी भए तापनि प्रारम्भिक रिपोर्टहरूमा धेरै ठुलो भौतिक क्षतिको अनुमान गरिएको छ । बाढीले सर्वसाधारणका घर, उद्यमी–व्यवसायीका पसल, सवारी साधन, पुल र जलविद्युत गृहहरूमा गम्भीर क्षति पुर्‍याएको छ।

    महासङ्घले यस विपद्मा ज्यान गुमाउने र क्षति व्यहोर्नेहरू प्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनमा यथाशीघ्र कार्य गर्न सबै पक्षसँग अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार