काठमाडौं । मुलुकमा हरेक वर्ष बाढीले रौद्ररुप देखाइरहन्छ । अघिल्लो वर्ष आएको बाढीबाट उठ्न नपाउँदै फेरि बाढीले दुःख दिइहाल्छ । बाढीबाट वर्षेनि नेपालमा ठूलो धनजनको क्षति हुँदै आएको छ । दशैं आउन अब डेढ महिना मात्र बाँकी रहेको अवस्थामा बस्ती नै सखाप पार्नेगरी आज आएको बाढीले आकंलन गर्न नसक्ने क्षति पुर्याएको छ । बिहान ९ बजे रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले वितण्डा मच्चाएको छ ।
तिब्बतबाट भित्रिएको बाढीले रसुवा मात्र नभई नुवाकोट र धादिङसम्म धनजनको क्षति गरेको छ । दर्जनौं सुरक्षाकर्मी सम्पर्कविहिन छन् । सयौं नागरिक उद्धारको पर्खाइमा छन् । बाढीमा ठूल्ठूला भवन, पुललगायतका भौतिक संरचना ध्वस्त बनेको छ । १३ वटा जलविद्युत आयोजनाको संरचनामा बाढीले व्यापक क्षति पुगेको छ ।
प्रारम्भिक तथ्याङ्कअनुसार कुल ७४८.१२ मेगावाट क्षमताका आयोजनाहरु बाढीको प्रत्यक्ष चपेटामा परेका छन् । त्यसमध्ये सञ्चालनमा रहेका आठ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ । ३९४ मेगावाटका पाँच निर्माणधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन् ।
रसुवामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला गरी २३१ मेगावाट विद्युत उत्पादन बन्द भएको छ । यता, नुवाकोटतर्फ नेपाल विद्युत प्राधिकरण मातहतका चार सरकारी आयोजनाबाट विद्युत उत्पादन अवरुद्ध भएको छ ।
एकैपटक ३५४ मेगावाटभन्दा बढी उत्पादन रोकिदाँ काठमाडौं उपत्यका र आसपासका औद्योगिक कोरिडोरमा विद्युत संकट निम्तिने देखिएको छ । एकातिर देशभर ग्याँसको संकट भइरहेको बेला अर्कोतिर विद्युतीय संरचनामा बाढीले पुर्याएको क्षतिले गम्भीर समस्या आउने जोखिम बढेको छ । विद्युतीय संरचनामा भएको क्षतिले देशभर लोडसेडिङ बढाउने निश्चय छ ।
बाढीको जोखिमले ग्याँस आउने बाटो नै बन्द गरिएको छ । व्यक्तिको घर, स्कूल, अस्पताल, कारागार, पुललगायतका संरचना पनि बाढीसँगै बगेको छ । घर बग्दा व्यक्ति छतविहिन बनेका छन् । विद्यार्थीहरु पढिरहेको विद्यालयको संरचनामा माटोको लेदोबाहेक केही छैन । त्यहाँका विद्यार्थीले अब कहिले स्कूल टेक्न पाउने ? टुंगो छैन । डेढ दर्जन बढी पुल क्षतिग्रस्त छन् ।
सामान ओसारपसार गर्ने सवारी गुड्ने ती पुलको नामोनिशान नै मेटिएको छ । ४० किलोमिटर सडक बाढीले बगाएको छ । नुवाकोट जिल्ला कारागार मरुभूमिजस्तै बनेको छ । सुरक्षाकर्मीको ब्यारेकमा पनि क्षति भएको छ । गाउँबस्ती पुरै उजाडिएको छ । जनजीवन अस्तव्यस्त छ । यो क्षतिबाट नेपाललाई उठ्न र पुरानै अवस्थामा फर्किन निकै सकस पर्ने देखिन्छ ।



