काठमाडौं । रसुवा बाढीले जलविद्युत् आयोजनाहरुमा व्यापक क्षति पुर्याएको दिन सेयरबजारमा करिब ३६ अंकको गिरावट आएको छ।साढे ७ सय मेगावाट बढी क्षमताका विभिन्न आयोजनामा एक्कासि आएको बाढीले क्षति पु¥याएको दिन नेप्से उक्त अंकले घटेर २५५८.३५ विन्दुमा झरेको हो।
यस दिन जलविद्युत् सूचक २.८४ प्रतिशतले घटेको छ। अन्य समूहको तुलनामा यो निकै बढी हो। बाँकी समूहहरु पनि राताम्य भएका छन्। यस दिन ४ अर्ब ७७ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।यो कारोबारमा २३ वटा सेयरको मूल्य बढेको छ भने २५२ वटाको घटेको र तीनवटामा घटबढ भएको छैन।
बुधबार सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेको छ भने अपरहेवा खोला हाइड्रोको १०.४३ प्रतिशतले बढेको छ। बाँकी सेयरहरु ६ प्रतिशतसम्म बढेका छन्।
आज बाढी प्रभावित रसुवागढी हाइड्रोको सेयरमा १५ प्रतिशतको गिरावट आएको छ। यसबाहेक अर्को प्रभावित मैलुङ खोला जलविद्युत्को सेयर पनि १४.९९ प्रतिशतले घटेको छ। त्यसैगरी त्रिशूली जलविद्युत कम्पनीको सेयर १२.९५ प्रतिशतले, माथिल्लो मैलुङ खोला जलविद्युत् ११.५६ प्रतिशतले सान्जेन जलविद्युत् कम्पनी ११.१८ प्रतिशतले घटेका छन्।
यी सबै आयोजना आजको बाढीबाट प्रभावित आयोजनाहरु हुन्।आज चिलिमे हाइड्रोपावरको सबैभन्दा बढी २० करोडको कारोबार भएको छ।



