काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण त्रिशूली नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका छन्।
यसका साथै बाढीले सो क्षेत्रका विभिन्न खण्डमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काउनुका साथै बगाएको छ । यो ठुलो क्षतिका कारण त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा ठप्प हुन पुगेको छ।
सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल बन्द बाटो खुलाउन र बिग्रेका संरचनाहरूको अस्थायी मर्मतका लागि सडक विभागले सक्रियता देखाएको छ।
विभागले क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका लागि ठुला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ। प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ।
भौगोलिक विकटता र निरन्तरको प्रतिकूल मौसमका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने कार्य निकै चुनौतीपूर्ण बनेको छ । धेरै ठाउँमा सडकको जग नै बगेकाले र पुलहरूमा गम्भीर क्षति पुगेकाले यातायात सेवालाई पूर्ववत् अवस्थामा फर्काउन तत्काल नसक्ने देखिएको छ।
सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।



