Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवा बाढी : उद्धारदेखि स्वास्थ्य उपचार र सडक खुलाउनेसम्म सशस्त्र प्रहरीका १३ काम

रसुवा बाढी : उद्धारदेखि स्वास्थ्य उपचार र सडक खुलाउनेसम्म सशस्त्र प्रहरीका १३ काम

बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । रसुवामा आएको बाढीपछि सशस्त्र प्रहरी बल, नेपालले प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणदेखि स्वास्थ्य उपचार, खोजी, सडक खुलाउने र थप बाढीको जोखिम न्यूनीकरणसम्मका कामलाई तीव्रता दिएको छ।

    सशस्त्र प्रहरीले बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गरिरहेको जनाएको छ। बाढीमा परेका गम्भीर घाइतेलाई तत्काल प्राथमिक उपचार गर्नुका साथै आपत्कालीन सडक उद्धारका लागि सहितको चिकित्सा तथा उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

    images

    बाढी प्रभावितको उपचारका लागि एपीएफ अस्पतालमा बेड खाली राखिएको छ भने नुवाकोटको विदुरमा अस्थायी स्थापना गरी सञ्चालन गर्ने तयारी भइरहेको छ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवाभन्दा तलका तटीय क्षेत्र नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिटलाई विपद् उद्धारका लागि अलर्ट अवस्थामा राखिएको छ। नदी किनारका जोखिमयुक्त बस्तीमा एपीएफका गाडी तथा गस्ती टोलीले साइरन बजाउँदै र माइकिङ गर्दै सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान सूचना दिइरहेका छन्।

    सशस्त्र प्रहरीले आफ्ना विभिन्न इकाइमा तयारी अवस्थामा राखिएका कन्टेनरमा रहेका आपत्कालीन राहत तथा उद्धार सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पुर्‍याइरहेको छ। देशका अन्य भागमा रहेका कन्टेनरलाई समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गर्ने काम भइरहेको छ।

    बाढीबाट क्षतिग्रस्त सडक तथा संरचना सञ्चालनमा ल्याउन पनि सशस्त्र प्रहरी परिचालन भएको छ। नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक खण्ड तथा कोरिडोरमा खसेका पहिरो हटाएर उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको छ।

    त्यस्तै, बाढी प्रभावित क्षेत्रमा थुनिएका वा हराइरहेका नागरिकको खोजी तथा बाढीबाट भएको क्षतिको मूल्यांकनका लागि ड्रोन परिचालन गरिएको छ। रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढीले पुरिएका व्यक्तिको खोजीका लागि सहितको खोज तथा उद्धार टोली समेत परिचालन गरिएको छ।

    सम्भावित थप विपद्को जोखिमलाई समेत सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको छ। भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा सम्भावित हिमताल विस्फोट वा थप बाढीको जोखिमबारे पूर्वसूचना प्राप्त गर्न चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर संवाद तथा सूचना आदानप्रदान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

    उद्धार कार्यलाई थप प्रभावकारी बनाउन बाढी प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड तयार गर्ने काम पनि भइरहेको छ। यसबाट नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरलाई सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाउन सहज हुने अपेक्षा गरिएको छ।

    विस्थापित नागरिक बसेका शिविरमा पानीजन्य रोग तथा हैजा फैलिन नदिन आपत्कालीन खानेपानी शुद्धीकरणका औषधि वितरण गर्नसमेत सशस्त्र प्रहरीका टोलीलाई निर्देशन दिइएको छ।

    यसरी सशस्त्र प्रहरीको उद्धार अभियान तत्कालीन जीवनरक्षा र उपचारमा मात्र सीमित नभई खोज तथा उद्धार, स्वास्थ्य सेवा, सडक सञ्चालन, राहत सामग्री आपूर्ति, जोखिम सूचना, हवाई उद्धारको पूर्वतयारी र विस्थापितको स्वास्थ्य सुरक्षासम्म विस्तार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार