काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, चितवनसम्म उच्च जोखिम रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट अचानक ठूलो बाढी आएको छ। बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीको बहाव बढेसँगै रसुवा, नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी त्रिशूली नदी आसपासका बस्ती जोखिममा रहेको भन्दै नदी किनारमा नजान र सम्भव भएसम्म सुरक्षित तथा उचाइ भएको स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ।
बाढीको वास्तविक कारण र क्षतिको पूर्ण विवरण अझै स्पष्ट भइसकेको छैन। तिब्बततर्फको भारी वर्षा वा माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुनसक्ने आशंका गरिए पनि कारण पुष्टि हुन बाँकी छ।
सावधानी: नदी तटीय क्षेत्रमा रहेका नागरिकले तत्काल सुरक्षित स्थानमा जानुहोस् र स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन निकायका आधिकारिक सूचना पालना गर्नुहोस्।



