काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक ठूलो बाढी आएको छ । बिहान करिब ९ः१५ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन्।
परियारका अनुसार बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन । प्रशासनले घटनाबारे थप जानकारी संकलन तथा क्षतिको विवरण बुझ्ने काम गरिरहेको जनाएको छ।
भोटेकोशी नदीमा पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्र जोखिममा पर्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
स्थानीय प्रशासनले नदीको बहावमा थप वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



