काठमाडौं । फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ।
बाराको कलैयाका बालकलाई आइतबार राति अक्सिजन सपोर्टसहित एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । गम्भीर अवस्थामा अस्पताल पुगेका उनलाई आकस्मिक कक्षबाट सोही राति आईसीयूमा लगेर उपचार सुरु गरिएको थियो।
नर्भिकका वरिष्ठ कन्सल्टेन्ट पल्मोनोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा. अच्युतभक्त आचार्य नेतृत्वको चिकित्सक टोलीले सोमबार बिहान ब्रोन्कोस्कोपीमार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेको हो।
उपचारमा संलग्न डा. आचार्यका अनुसार इमलीको दाना फोक्सोको देब्रेतर्फको श्वासनलीमा अड्किएर श्वासनली नै बन्द भएको थियो । दाना निकालिएपछि बालकको स्वास्थ्यमा सुधार हुँदै गएको उनले जानकारी दिए।
‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रे भागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो । बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,’ डा. आचार्यले भने, ‘सोमबार बिहान अड्किएको इमलीको दाना निकालेपछि बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संक्रमण भएर सेतो भइसकेको फोक्सोको देब्रे भाग पनि ठीक हुँदै गएको छ।’
बालकका बुबाका अनुसार शुक्रबार साँझ करिब ७ बजे बालकले सामान्य रूपमा खाना खाएका थिए । सुत्ने समयमा पनि बुबाआमासँग कुराकानी गरेका थिए । तर, राति साढे १० बजेतिर उनलाई अचानक अत्यधिक खोकी लाग्यो।
तीन पटकसम्म खोकेपछि बालकलाई सास फेर्न गाह्रो भयो । त्यसपछि आँखा पल्टाएर अर्धबेहोस अवस्थामा पुगेपछि उनलाई तत्काल कलैयास्थित सरकारी अस्पताल लगिएको थियो।
अस्पतालमा अक्सिजन दिइए पनि अक्सिजनको मात्रा ४०–५० मात्रै देखिएको थियो । भेन्टिलेटरको सुविधा नभएको भन्दै अस्पतालले शुक्रबार राति ११ बजे उनलाई अर्को अस्पतालमा रेफर गरेको थियो । त्यतिबेलासम्म बालक बोल्न नसक्ने अवस्थामा पुगिसकेका थिए।
त्यसपछि कलैयाकै अर्को निजी अस्पतालमा लगेर उनलाई भेन्टिलेटरमा राखियो । स्वास्थ्यमा सुधार नआएपछि बुबाले थप उपचारका लागि अर्को अस्पताल लैजाने निर्णय गरे । रेफर गर्नुअघि गरिएको छातीको एक्सरेमा फोक्सोको देब्रे भाग सेतो देखिएको थियो । चिकित्सकहरूले कडा निमोनिया भएको बताएका थिए।
शनिबार बेलुका बालकलाई वीरगञ्जस्थित तेस्रो अस्पतालमा पुर्याएर आईसीयूमा राखियो । त्यहाँ पुगेपछि बालक केही बोल्न सक्ने भए पनि फोक्सोमा समस्या देखिनुको कारण भने पत्ता लागेको थिएन।
आइतबारसम्म चिकित्सकहरूले एक्सरेमा फोक्सोको देब्रे भाग निमोनियाका कारण क्षति हुँदै गएको बताएका थिए। निमोनियाको कारण पत्ता लगाउन आइतबार साँझ गरिएको सिटी स्क्यानमा फोक्सोको देब्रे भागको श्वासनलीमा दानाजस्तो वस्तु देखिएपछि समस्या पहिचान भएको थियो।
श्वासनलीमा बाह्य वस्तु अड्किएको पुष्टि भएपछि चिकित्सकहरूले थप उपचारका लागि बालकलाई काठमाडौं रेफर गरेका थिए । वीरगञ्जबाट अक्सिजन सपोर्टमै राखेर करिब चार घण्टामा काठमाडौं ल्याइएका बालकलाई आइतबार राति नर्भिकमा भर्ना गरिएको थियो।
‘आफन्तहरूसँग सल्लाह गर्दा नर्भिकमा उपचार हुन्छ भनेपछि आइतबार राति नर्भिकको आकस्मिक कक्षमा लिएर आयौँ,’ बालकका बुबाले भने।उपचारपछि बालक होशमा आएर बोल्न थालेका छन् । उनका बुबाले पनि अब छोरालाई निको हुने आशा जागेको बताएका छन्।
‘शुक्रबारदेखि तीन वटा अस्पताल धायौँ, बल्ल उपचार गरेर अहिले बाबु होशमा आइसक्यो,’ उनले भने, ‘अहिले बोल्न सक्ने भयो । अब त ठीक हुन्छ भन्नेमा ढुक्क भएका छौँ।’
उपचारपछि बोल्न थालेका बालकले आफूले शुक्रबार दिउँसो नै इमली खाएको बुबालाई बताएका थिए । उनले बुबालाई ‘छिट्टै घर लैजानु’ भनेको पनि बुबाले जानकारी दिए।



