काठमाडौँ । नेपाल सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेपछि त्यसैअनुसार धान खरिद गर्ने सहकारीहरूलाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुिनकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले एक सूचना जारी गर्दै न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सहकारी संस्थाहरूलाई प्रोत्साहनस्वरूप व्यवस्थापन खर्च उपलब्ध गराउने जनाएको हो।
मन्त्रिपरिषद्को गत २०८३ जेठ ११ गतेको निर्णयअनुसार चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३,८६० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकिएको थियो। मन्त्रिपरिषद्कै २०७७ कात्तिक0४ गतेको निर्णयबाट स्वीकृत ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७’ मा भएको प्रावधानबमोजिम कृषकहरूले उत्पादन गरेको धान तोकिएको मूल्यमा खरिद गर्ने सहकारीहरूलाई अनुदान/व्यवस्थापन खर्च दिने व्यवस्था गरिएको छ।
यस कार्यक्रम लागू भएका जिल्लाहरूमा रहेका ‘कार्यक्रम कार्यान्वयन एकाइ’हरूमार्फत यो व्यवस्थापन खर्च उपलब्ध गराइनेछ। तोकिएको समर्थन मूल्यमा कृषकबाट धान खरिद गरी यो सुविधा लिन इच्छुक सहकारी संस्थाहरूलाई सम्बन्धित जिल्लास्थित कार्यक्रम कार्यान्वयन एकाइमा नियमानुसार सूचीकृत हुन राष्ट्रिय कृषि आधुिनकीकरण कार्यक्रमले अनुरोध गरेको छ।




