काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले र कांग्रेसबिच सत्तामा बेमेल देखिएर प्रदेश विघटनको दिशामा जाने हो कि भन्ने सङ्कट देखिएपछि सरकारमा सहभागी भएको बताएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको सोमबार बसेको बैठकमा राखेको विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथि छलफल गर्दै आङ्बोले यस्तो बताएका हुन् । उनले रास्वपा नेतृत्वको सङ्घीय सरकारले संविधान, प्राप्त उपलब्धि र लोकतन्त्रमाथि नै प्रहार गर्ने कोशिस गरिरहेको कारणले सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
उनले नयाँ आशा जगाउनका लागि सरकारमा गएर काम गर्न कोशिस गर्ने, राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने र लोकतन्त्रको रक्षाको लागि दुई पार्टीबिच गठबन्धन भएको बताए।
उनले मुख्यमन्त्री कार्कीले तीन तीन पटक विश्वासको मत लिने वातावरण बन्नु लज्जाको विषय पनि भएको बताए। ‘हामीलाई बारम्बार अस्थिरताको विषयमा जवाफ दिन कठिन भइरहेको छ,’ उनले भने, ‘फेरि पनि हामी अस्थिरताको पक्षमा छैनौँ । यसको भारी बोक्ने पक्षमा हाम्रो पार्टी र हामी छैनौँ । एमालेभित्र देखिएको विवादको समाधान एमालेले नै गरोस्।’
दलहरूबिचको असमझदारीको कारण फेरि अस्थिरता निम्त्याउनु नहुने उनले बताए । ‘तत्कालीन नेकपा विभाजित हुँदा नै अहिलेको परिस्थिति निर्माण भएको हो । अहिले हामी तेस्रो र चौथो पार्टीको रूपमा छौँ,’ आङ्बोले भने, ‘फेरि पनि त्यस्तै गल्ती नगरौँ । एमालेले आफ्नो दलको समस्या छिटो समाधान गरोस्।’
तीन दलबिचको सत्ता सहकार्यले खासै अर्थ नराख्ने भन्दै उनले काम के गर्ने भन्ने विषयले सरोकार राख्ने बताए ।‘कहिले कांग्रेस र नेकपा, कहिले नेकपा र एमालेबिच सहकार्यबाट सरकार बन्दा जनतालाई खासै सरोकार हुँदैन,’ आङ्बोले भने, ‘हामीले के काम गर्छौँ भन्ने मुख्य कुरा हो । काम गर्ने प्रयासमा हामी लाग्नुपर्छ ।’ उनले मुख्यमन्त्री कार्कीलाई आफ्नो दलले विश्वासको मत दिने बताए।



