काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएको छ।
बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको हो।
अनुसन्धानको क्रममा भएको विषय र आरोपीको भनाई सार्वजनिक भएसँगै प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा आरोपी किशोरले घटनाको योजना कसरी बन्यो र कसरी बलात्कारपछि हत्या गरिएको थियो भन्नेबारे खुलाएका छन्।
उनले आफू र जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का मिलेर बालिकालाई पहिले बलात्कार र त्यसपछि हत्या गरेको खुलाएका छन् । त्यसरी अनुसन्धानको विषय बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे छानबिन थालेको जानकारी दिएको छ।
बाराका एसपी नरेन्द्र कुँवरले भिडियो कसरी बाहिरियो भन्नेबारे छानबिन सुरु गरिएको बताए । उनले भने, ‘अस्पतालमा चिकित्सकहरूले सोधपुछ गरेको भिडियो लिक भएको छ, त्यसबारे हामीले छानबिन सुरु गरेका छौँ।’जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घले नेतृत्वको टिमले त्यसबारे छानबिन सुरु गरेको हो।



