काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका दुई उपरथी र चार महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बिच सोमबार उनीहरूलाई दर्जा अनुसारको चिह्न प्रदान गरिएको हो।

नेपाली सेनाका अनुसार भाद्र ५ गते उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी द्वय द्रव्यराम भण्डारी र डा. रञ्जित थापालाई प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह पहिराएका हुन्। सोही अवसरमा पदोन्नति भएका चार जना प्रमुख सेनानीहरूलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा सेनाका रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका सैनिक अधिकारीका परिवारजनको उपस्थिति थियो।



