काठमाडौं । नेपाली अटोमोबाइल बजारमा ३० लाखदेखि ४० लाख रुपैयाँसम्मको ‘प्राइस रेन्ज’ नयाँ प्रतिस्पर्धाको केन्द्र बनेको छ।चालू आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै यो मूल्य रेन्जमा आधा दर्जनभन्दा बढी नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक भइसकेका छन्।
नाइमा मोबिलिटी एक्स्पो र आगामी नाडा अटो शोलाई लक्षित गर्दै व्यवसायीहरूले एकपछि अर्को नयाँ मोडल सार्वजनिक गर्न थालेपछि ३० देखि ४० लाख रुपैयाँको सेग्मेन्टका अधिकभन्दा अधिक सवारी उपलब्ध गराएर ग्राहक तान्ने ध्येयमा व्यवसायीहरु देखिएका छन्।
यसले पनि उक्त मूल्य रेन्जमा पछिल्लो समय सबैभन्दा प्रतिस्पर्धा देखिएको हो।पछिल्लो एक महिनाको अवधिमा बीवाईडी अट्टो १, टाटा पञ्च ईभी फेसलिफ्ट, चेरी क्यू३, प्रोटोन ईमास ५, आर्कफक्स टी१ र नामी भिगो ई२ सार्वजनिक भइसकेका छन्।
कियाले भने सिरोस ईभी औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहे पनि बुकिङ सुरु गरिसकेको छ। यसले ३०–४० लाख रुपैयाँ आसपासको मूल्यलाई नेपालमा ईभीको चढ्न खोज्नेका लागि आकर्षक विकल्पका रुपमा व्यवसायीहरुले प्रस्तुत गरिरहेका छन्।
एउटै मूल्य रेन्जमा सात मोडल
यी रेन्जमा नेपाल भित्रिएका अधिकांश गाडीहरु कम्प्याक्ट एसयूभी, अर्बन क्रसओभर तथा प्रिमियम ह्याचब्याक प्रकृतिका छन्।
बीवाईडीले अट्टो १ फेसलिफ्ट डाइनामिक र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। जसको मूल्य क्रमशः ३० लाख ७५ हजार रुपैयाँ र ३४ लाख ८० हजार रुपैयाँ छ। फेसलिफ्ट भर्सन ३०.०८ किलोवाट आवर र ३८.८८ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध छ। जसले क्रमशः करिब २३० र ३०० किलोमिटर रेन्ज दिन्छ। यसमा ४५ किलोवाट मोटर छ। नयाँ संस्करणमा दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थपिएको छ।
यस्तै भारतीय कम्पनी टाटा पञ्च ईभी फेसलिफ्टले पनि यही मूल्यमा प्रतिस्पर्धा गरिरहेको छ। पञ्च ३० र ४० किलोवाट आवर ब्याट्री विकल्प छन्। ४० किलोवाट–घण्टा संस्करणको ईभीले ४६८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ भने १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकका लागि पनि लक्षित गरिएको छ। यसको मूल्य ३३ लाख ९९ हजार र ३७ लाख ९९ हजार रुपैयाँ पर्छ।
नाइमा एक्स्पोमार्फत नेपाली बजारमा प्रवेश गरेको अर्बन इलेक्ट्रिक क्रसओभर चेरी क्यू पनि सोही मूल्य रेन्जमा प्रतिस्पर्धा गरिरहेको छ।
चेरी क्यु३ पनि दुई भेरियन्ट कम्फर्ट र प्रिमियममा उपलब्ध छ। कम्र्फटको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर नाइमा अफरमा ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँबाट बुकिङ लिइएको थियो। ४१.२ किलोवाट–घण्टा ब्याट्री र करिब ४०० किलोमिटर रेन्ज दाबी गरिएको यो गाडी कम मूल्यमा धेरै फिचर दिने रणनीतिमा आएको देखिन्छ।
प्रोटोनको ईमास ५ ले पनि यही मूल्य रेन्जलाई लक्षित गरेको छ। प्रोटोन इमास ५ पनि दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध छ।
यसको प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवर र प्रिमियममा ४०.१६ किलोवाट–आवर ब्याट्री प्रयोग गरिएको छ। जसले क्रमशः २२५ किलोमिटर र ३२५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। प्राइभको मूल्य २९ लाख ९९ हजार र प्रिमियमको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सोही मूल्यमा रेन्जमा अर्को प्रतिस्पर्धी ब्रान्ड हो, आर्कफक्स टी१। आर्कफक्स टी१ दुई भेरियन्टमा उपलब्ध छ। जसमा एलभी २ को मूल्य ३२ लाख ९६ हजार रुपैयाँ र एलभी ३ को मूल्य ३५ लाख ९६ हजार रुपैयाँ छ। ४२.३ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध टी१ ले फूल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी छ।
यस्तै नाडा अटो शोलाई लक्षित गर्दै सार्वजनिक गरिएको डोङफेङ नामीको भिगो ई२ को सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको बजार मूल्य भने ३७ लाख ९९ हजार रुपैयाँ रहेको एमडब्लू वृद्धिले जानकारी दिएको छ।
नामी भिगो ई२ मा रहेको ५१.८७ किलोवाट आवरको ब्याट्रीले ३५० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी छ। ९९ किलोवाट मोटर र १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित कम्प्याक्ट एसयूभीभन्दा केही माथिको व्यावहारिक पारिवारिक ईभीका रूपमा प्रस्तुत गरेको छ।
सोही मूल्य रेन्जमा प्रतिस्पर्धा गरिरहेको अर्को ब्रान्ड हो, कियाको सिरोस ईभी ईभी। नाइमा एक्स्पोमा सिरोस इभीको बुकिङ खुल्ला गरिए पनि यसलाई कम्पनीले आधिकारीक रुपमा भने नेपाली बजारमा सार्वजनिक गरेको छैन। सिरोस इभी सुरुवाती १०० ग्राहकका लागि ३५ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरिएको छ।नेपालमा ४२ किलोवाट आवर ब्याट्रीसहित आउने सिरोसले ४४३ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज दिन्छ।
किन व्यवसायीको ध्यान यही रेन्जमा?
हालको कर संरचनका कारण ३० देखि ४० लाख रुपैयाँ रेन्जभित्रको गाडी उपलब्ध गराउन सकिएको व्यवसायीहरुले बताएका छन्।एमएडब्लू ग्रुपका अध्यक्षा विष्णुकुमार अग्रवालले चालू आवको बजेटमार्फत विद्युतीय गाडीको करका दरमा भएको परिवर्तन र ग्राहकहरुको चाहनालाई ध्यानमा राखेर विशेष मूल्यमा उपलब्ध गराउन सकिएको नाभी भिगो २ ई सार्वजनिक गर्ने क्रममा बताएका थिए।
‘हामीले डोङफेङ मोटर्र्ससँग समन्वयन गरेर यो विशेष भर्सनका लागि राम्रो मूल्य प्राप्त गर्न सफल भएका छौँ। चालू आवको बजेटअनुसार करको दर घोषणा गरिएको छ। त्यसअनुसार हामीले यसको मूल्य निर्धारण गरेर ल्याएका हौँ’, अग्रवालले भने।
नाफा कमाउनेभन्दा पनि ग्राहकलाई हस्तान्तरण गर्ने उद्देश्यसहित यस मूल्यमा नामी भिगो उपलब्ध गराइएको उनको भनाइ छ।
एमएडब्लु वृद्धिले कस्टमाइजेसनलाई आफ्नो कम्पनीको सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा लिने गरेको छ।
‘ग्राहकको आवश्यकता के छ, उहाँहरुले के खोजिरहनुभएको छ र सबैभन्दा महत्वपूर्ण कुरा कुन मूल्यमा खोजिरहनुभएको छ। नाभी भिगोको मूल्य पनि ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर निर्धारण गरिएको उनले बताए।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ईभीको कर संरचना परिवर्तन गरिएको थियो। ईभीको कर निर्धारण गर्ने पुरानो मोटरको किलोवाट क्षमतामा आधारित प्रणाली हटाएर गाडीको खरिद मूल्य (सीआईएफ) आधारित संरचना लागु गरिएको छ। सबै विद्युतीय यात्रुवाहक सवारीमा २० प्रतिशत भन्सार महसुल कायम गरिएको छ भने पुरानो अन्तःशुल्क हटाएर हरित शुल्क लागू गरिएको छ।
संशोधित संरचनाअनुसार भन्सार मूल्य २० लाख रुपैयाँसम्मका ईभीमा २.५ प्रतिशत, २०–३० लाखमा २० प्रतिशत, ३०–४० लाखमा ३५ प्रतिशत, ४०–५० लाखमा ९० प्रतिशत र ५० लाखभन्दा माथि १३० प्रतिशतसम्मको हरित पुर्वाधार शुल्क लाग्ने व्यवस्था छ।त्यसबाहेक भन्सार, सडक निर्माण शुल्क र १३ प्रतिशत भ्याट पनि जोडिन्छ।



