काठमाडौं । “घरमा राखौँ चोरी हुने डर, बैंकमा राखौँ केवाईसी भर्न जाँदा खाता रित्तिने डर ! अब पैसा कहाँ लगेर सुरक्षित राख्नु ?” ठगीमा परेका काठमाडौं चक्रपथका ५६ वर्षीय शेखर क्षेत्री (नाम परिवर्तन) का छोराको यो प्रश्नले यतिबेला नेपालको सम्पूर्ण बैंकिङ सुरक्षा प्रणालीमाथि नै व्यङ्ग्य गरिरहेको छ।
२ भदौ बिहान आफ्नो बैंक खाताको विवरण अद्यावधिक (केवाईसी) गर्न राष्ट्रिय वाणिज्य बैंक पुगेका क्षेत्रीको साँझ पर्दासम्म अर्कै बैंक (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक - एनआईएमबी) मा रहेको दुई लाख १९ हजार रुपैयाँ क्षणभरमै गायब भयो । कसरी गायब भयो त्यतिका रकम?
राष्ट्रिय परिचयपत्र अपडेट नगरे असोज मसान्तपछि खाता निष्क्रिय हुने खबर शेखरले सामाजिक सञ्जालबाट थाहा पाएका थिए । झन्डै तीन वर्षदेखि निष्क्रिय जस्तै रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा एनआईडी र अन्य विवरण अपडेट गर्नुपर्ने थियो उनलाई । २ भदौका दिन बिहान ११ बजेतिर शेखर आफ्ना छोराका साथ काठमाडौं बसुन्धरामा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पुगेका थिए।
“ड्याडी पढे लेखेको हुनुहुन्न,” शेखरका छोराले टेकपानासँग भने, “राष्ट्रिय वाणिज्य बैंकको खाता तीन वर्षदेखि चलाउनु भएको रहेनछ । एनआईडी र आफ्नै नामको सिम पनि अपडेट गर्नुपर्ने भएकाले केही नबिग्रियोस् भनेर मलाई साथमै लिनु भएको थियो।”
शेखरका छोरा पेसाले सिभिल इन्जिनियर हुन् । उनैले बुबालाई बैंकमा लगे । केवाईसी अद्यावधिक गर्ने फारम मागे र आवश्यक सम्पूर्ण विवरण भरे । त्यसमा रहेको एक सेक्सनमा केही विवरण राख्नुपर्ने थियो । उनीहरूले राखेको त्यही विवरणले गर्दा नै बैंकको सबै रकम रित्तिएको क्षेत्री परिवारको आशंका छ । के थियो त्यो विवरण?
“त्यहाँ तपाईंको अन्य बैंकमा खाता भए उल्लेख गर्नुहोला भनेर लेखिएको थियो,” क्षेत्रीका छोरा सुनाउँछन्, “ड्याडीको एनआईएमबी बैंकमा खाता थियो । मैले त्यही खाता नम्बर राखेको थिएँ । पछि त्यही खातामा भएको दुई लाख १९ हजार रुपैयाँ लुटियो ।” अर्थात उक्त केवाईसी फारममा उल्लेख गरिएको एनआईएमबी बैंकको खाताको रकम लुटिएको थियो।
फारम बुझाउँदा बैंकका कर्मचारीले ‘फोटो पुरानो भयो’ भन्दै नयाँ फोटो खिचाएर ल्याउन भने । बैंकमा मानिसको बाक्लो भीड भएकाले उनीहरू फाराम बोकेर घर फर्किए । “त्यहाँ भीड धेरै देखेर हामीले फाराम घरमै ल्यायौं । अनि फोटो पनि नजिकैको स्टुडियोमा खिचाउने निर्णय गर्यौँ,” घटना सम्झँदै शेखरका छोराले भने, “हामीले घरमै नयाँ फोटो टाँस्यौं।”
सोही दिन दिउसो एक बजेतिर उनीहरूले नयाँ फोटो टाँसिएको फारम राष्ट्रिय वाणिज्य बैंकमा लगेर बुझाए । बैंकभित्र केवाईसी फाराम सङ्कलन गर्न र ग्राहकलाई सघाउन थुप्रै ‘इन्टर्न’ विद्यार्थी र कर्मचारी यताउता गरिरहेका थिए । भीडभाडका बिच फाराम बुझाएर उनीहरू निश्चिन्त भई घर फर्किए।
झन्डै तीन बजेतिर शेखर क्षेत्रीको मोबाइलमा ‘९७०१३४४७८१’ नम्बरबाट कल आयो । “‘म राष्ट्रिय वाणिज्य बैंकबाट बोलेको हुँ । तपाईंको केवाईसी भेरिफाई भएन’ भन्दै कुरा सुरु गर्यो,” क्षेत्रीका छोराले भने, “ड्याडी आफू बाहिर रहेको र घरमा पुगेर छोरालाई भन्छु भन्नु भएछ । त्यसपछि अहिले नै तपाईंले त्यो नम्बर पठाउनुपर्छ नत्र खाता अपडेट हुँदन भनेछ । लगत्तै ९७६५७०५८८७ नम्बरबाट ह्वाट्सएप कल पनि आयो ।” ह्वाट्सएपको डिस्प्लेमा राष्ट्रिय वाणिज्य बैंककै आधिकारिक लोगो थियो।
“बिहान मात्रै बुबा बैंक जानुभएको थियो । साँझ फोन आयो, ह्वाट्सएपमा बैंककै लोगो थियो,” शेखरका छोराले भने, “टेक्नोलोजी धेरै नबुझ्ने ५६ वर्षको बुबाले कसरी शंका गर्नु ? बिहान बैंकमा दिएको विवरण अनुसार नै फोन आएपछि त उहाँले बैंककै कर्मचारी ठानेर पत्याउनुभयो।”
केवाईसी भेरिफिकेसनको नाटक गर्दै ठगले मोबाइलमा आएको ओटीपी कोड माग्यो । राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी ठानेर क्षेत्रीले कोड के दिएका थिए, उता एनआईएमबी बैंकको खाताबाट दुई लाख १९ हजार रुपैयाँ सेकेन्डमै स्वाहा भयो।
यस घटनाको रहस्यमय र डरलाग्दो पाटो अर्कै छ । राष्ट्रिय वाणिज्य बैंकमा केवाईसी भर्न गएका व्यक्तिको अर्कै बैंक (एनआईएमबी) बाट पैसा कसरी चोरी भयो ? “हाम्रो मुख्य प्रश्न नै यही हो,” क्षेत्रीका छोराले आक्रोशित हुँदै भने, “हामीले एनआईएमबी बैंकको खाता नम्बर राष्ट्रिय वाणिज्य बैंकको त्यही केवाईसी फाराममा मात्र लेखेका थियौँ । त्यही दिन, त्यही समयमा स्क्यामरलाई त्यो एनआईएमबीको खाता नम्बर र बुबाको फोन नम्बर कसरी थाहा भयो ? बैंककै कर्मचारी वा त्यहाँका इन्टर्नको प्रत्यक्ष संलग्नता र सूचना बिक्रीबिना यो कुनै हालतमा सम्भवै छैन । यो संयोग हुनै सक्दैन, पूर्ण नियोजित षड्यन्त्र हो।”
घटना लगत्तै क्षेत्री परिवार प्रहरीको साइबर ब्युरो पुगे । तर त्यहाँको दृश्य झनै निराशाजनक थियो; साइबर ठगीका सयौँ पीडितको अत्यधिक भीडका कारण उजुरी दर्ता गर्नै हम्मेहम्मे पर्यो । धेरै ठुलो भीड भएपछि शेखर र उनका छोरा फर्किए र अर्को दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी दिए।
गत बुधबार उजुरी दिएको भए पनि आइतबारसम्म उक्त ह्वाट्सएप नम्बर सक्रिय थियो । “त्यो मान्छे अझै ह्वाट्सएपमा अनलाइन बसिरहेको छ । नेपालीमै मेसेज गर्छ र लगत्तै डिलिट गर्छ,” पीडितका छोराले भने, “बैंकबाटै डीएसपी र प्रहरीको रोहबरमा त्यो ९७६५७०५८८७ नम्बरमा कल गर्दा फोन लागिरहेकै थियो । तर प्रहरीले उसलाई ट्रयाक गर्न सकेको छैन।”
रकम कुन कुन बैंकबाट कता कसको खातामा गइरहेको छ वा निकास भइरहेको छ भन्ने तत्कालै थाहा नहुँदा अहिलेका लागि क्षेत्री परिवारले उक्त रकम माया मार्नुपर्ने अवस्था आएको छ । "कता गएको हो वा कुन कुन बैंकमा गयो भन्ने थाहा पाएको भए होल्ड गर्न सकिन्थ्यो होला । तर, नेपालमा त्यस्तो सिस्टम नै रहेनछ," दुःख व्यक्त गर्दै उनका छोराले भने।
केवाईसीको एउटा सानो फाराम भर्न जाँदा सर्वसाधारणको जीवनभरको कमाइ यसरी लुटिने स्थितिले बैंकिङ प्रणालीको विश्वसनीयतामाथि नै ठुलो सङ्कट पैदा गरेको छ । “हामी जस्ता युवा त एकपटक झुक्किन सक्छौँ भने वृद्ध बुबाहरू कसरी जोगिनु ?,” क्षेत्रीका छोरा प्रश्न गर्छन् । पीडित परिवारले राष्ट्रिय वाणिज्य बैंकभित्रका कर्मचारी र इन्टर्नमाथि सूक्ष्म अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेका छन्।
यता प्रहरीले भने यो केबल संयोग हुने अनुमान लगाएको छ । “स्क्यामरले अनेक थरीले ओटीपी कोड माग्ने गरेको छ,” साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीलिपकुमार गिरी भन्छन्, “यसरी नै अरू पीडितबाट पनि कोड मागेर बैंक खाता रित्याउने गरेको देखिन्छ । यसलाई नजर अन्दाज त गर्न मिल्दैन । अनुसन्धानले के देखाउँछ त्यसको आधारमा हामीले बोल्नुपर्ने हुन्छ । तर, अहिलेसम्म हेर्दा यो स्क्यामरको ओटीपी फुत्काउने तरिकामध्येको एक हो । उसले जालो फालेको हो । संयोग के पर्यो भने उहाँहरू त्यही दिन केवाईसी अपडेट गर्न जानुभएको रहेछ।”
जुनसुकै बहानामा पनि ओटीपी कोड मागे नदिन प्रहरी उपरीक्षक गिरीले आग्रह गरे । “कसैलाई पनि कुनै पनि हालतमा जेसुकैको होस् ओटीपी कोड दिनु भएन,” उनी भन्छन्, “ओटीपी कोड बैंक वा अन्य वित्तीय संस्थाले कहिल्यै पनि फोन गरेर माग्दैन । यस्तो कुरा बुझेकाले आफ्नो परिवारलाई बुझाउनु पर्यो । सबैले बुझ्नु पर्यो । ओटीपी भनेकै रकम ट्रान्सफर गर्ने चाबी हो भनेर सामान्य तरिकाले बुझाउन सक्नुपर्यो।”



