काठमाडौँ । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरूका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो।
पत्रकार सम्मेलनमा जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले शहीद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे।
उनले गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र जेनजी शहीदका परिवार र घाइतेहरूका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको भए पनि अहिलेसम्म ठोस प्रगति नभएको बताए ।
उनले आफूहरूका माग सम्बोधन गर्न भन्दै सरकारले पटक पटक समिति गठन गर्ने तर ती समितिले प्रभावकारी रूपमा काम गर्न नसक्दा सरकारप्रति आफूहरूको विश्वास गुम्दै गएको बताए । चौलागाईंले घटना भएको १२ महिना बितिसक्दा समेत सरकारले विश्वास गर्ने आधार तयार गर्न नसकेको आरोप लगाए । उनले सरकारले विगतमा शहीद परिवार र घाइतेहरूसँग गरेका सहमतिहरू कार्यान्वयन नगरेको समेत आरोप लगाए।
उनले भने, ‘गृहमन्त्री सुधन गुरुङले हामीलाई एक महिनाको समय दिनुहोस् सबै मागहरू पूरा गर्छु भनेको हुनाले हामीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका हौँ । तर अब त्यो अवस्था छैन । हामीहरूले उहाँहरूको भनाइ पनि सुन्यौँ । यो बीचमा धेरै समितिहरू पनि बने सभापतिज्यू शहीद परिवारको कार्यकक्षमा आएर कसर्न दिन शहीदको बाबुलाई अँगालो मारेर तपाईँको छोरो त गयो अब म तपाईँको छोरो हुँ । जे जे गर्नुपर्छ म गर्छु भनेको दिनदेखि उहाँ छ महिना हराउनुभयो । फेरी आएर समिति बनाउँछौँ तपाईँका सबै मागहरू समितिसमक्ष राख्नुस् भन्नुभयो । समिति पनि बन्यो तर समितिले कुनै बैठक नै गर्न पाएन।
हामीले १२ महिना हुँदा समेत सरकारले विश्वास लाग्ने काम पनि गरेन कुरा पनि गरेन । हामीले सरकारले मन्त्रालयका सहसचिव र घाइते तथा शहीद परिवारका दुई दुई जना सम्मिलित बैठकमा समेत यो समितिले ट्ंग्याएका सबै विषयहरू सरकारले हुबहु पास हुने ग्यारेन्टी दिनुस् भनेर भनेका थियौँ । तर उहाँहरूले मान्नुभएन । हामीहरूले दुःखबाहेक केही पनि पाएनौँ । हामीले गरेको एसएमएसको रिप्लाई आजसम्म पनि दिनुभएको छैन । अब त्यो समितिलाई विश्वास गरेर हिँड्दा खेरी हाम्रा मागहरू पूरा होलान् त?’
उनले मन्त्रालयका सहसचिव, शहीद परिवार र घाइतेका प्रतिनिधि सम्मिलित समितिमा आफूहरूले समितिले टुंग्याएका विषय सरकारले कार्यान्वयन गर्ने सुनिश्चितता माग गर्दा मन्त्रालयका कर्मचारीहरू पछि हटेको आरोप समेत लगाए।



