Oct 30 2026 | २०८३ कार्तिक १४ गते

चालु आर्थिक वर्षको पहिलो महिनामा कार आयात २४ प्रतिशतले वृद्धि, दुईपाँग्रेमा विद्युतीयको रेकर्ड

चालु आर्थिक वर्षको पहिलो महिनामा कार आयात २४ प्रतिशतले वृद्धि, दुईपाँग्रेमा विद्युतीयको रेकर्ड

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना (साउन) मा नेपालको अटोमोबाइल बजारमा मिश्रित उत्साह देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा कार, जिप र भ्यानको आयातमा उल्लेख्य वृद्धि देखिएको छ भने दुईपाँग्रे सवारी साधनको आयातमा सामान्य गिरावट आएको छ।

    तर, दुवै क्षेत्रमा विद्युतीय सवारी साधन (ईभी) प्रतिको आकर्षण भने निकै बलियो देखिएको छ । साउन महिनामा कुल ९८७ युनिट कार, जिप र भ्यान नेपाल भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २४ प्रतिशत (१९० युनिट) ले बढी हो । गत वर्ष साउनमा ७९७ युनिट कार भित्रिएका थिए।

    images

    कुल आयातित कारमध्ये विद्युतीय कारको हिस्सा सबैभन्दा ठूलो छ । विभागका अनुसार साउनमा ६८९ युनिट विद्युतीय कार आयात भएका छन् । जुन गत वर्षको १६० युनिटको तुलनामा ४ गुणाले बढी हो । यसका साथै साउनमा २१९ युनिट पेट्रोल, ५६ युनिट डिजेल र २३ युनिट प्लग–इन हाइब्रिड कार आयात भएका छन्।

    आयात मूल्य र राजस्व चारपाँग्रे

    २ अर्ब १९ करोड रुपैयाँ कुल आयात भएको छ भने सरकारलाई कुल राजस्व संकलन २ अर्ब ४४ करोड रुपैयाँ भएको छ । जसमा पहिलो साउन महिनामा विद्युतीय कार मात्र  १ अर्ब ६१ करोडको आयात हुँदा सरकारलाई १ अर्ब ६ करोड राजस्व संकलन भएको विभागले जनाएको छ।

    त्यस्तै, पेट्रोल-डिजेल कार मात्रै ४४ करोड ८५ लाखको आयात हुँदा सरकारलाई १ अर्ब ९ करोड राजस्व संकलन भएको छ । त्यस्तै, नेपालमा हाइब्रिड कार मात्रै १३ करोडको आयात भएको छ भने त्यसबाट सरकारलाई २९ करोड राजस्व संकलन भएको विभागले जनाएको छ।

    भदौमा आयोजना हुने नाडा अटो शो र साउनमा भएको नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी व्यवसायीहरूले ठूलो संख्यामा नयाँ ईभी ब्राण्ड र मोडलहरू भित्र्याएका कारण कार आयातमा वृद्धि देखिएको हो।

    दुईपाँग्रे सवारीः २८ हजार युनिट आयात, ई–स्कुटरमा नयाँ रेकर्ड

    दुईपाँग्रे सवारी साधनतर्फ भने साउनमा केही गिरावट देखिएको छ । साउन महिनामा कुल २७ हजार ८०६ युनिट मोटरसाइकल र स्कुटर आयात भएका छन् । यो गत वर्षको सोही महिना (३० हजार ८७ युनिट) को तुलनामा ७.५२ प्रतिशत अर्थात् २,२६२ युनिटले कम देखिएको छ।

    दुईपाँग्रेमा पनि विद्युतीय स्कुटरको आयातले नयाँ रेकर्ड कायम गरेको छ । पहिलो पटक एकै महिनामा ५ हजार १७४ युनिट विद्युतीय दुईपाँग्रे सवारी भित्रिएका छन् । कुल दुईपाँग्रे आयातमा विद्युतीयको हिस्सा १८.६० प्रतिशत पुगेको छ।

    जसमा कुल आयात  ४ अर्ब रुपैयाँ (अनएसेम्बल र तयारी दुवै) रहेको छ भने त्यसबाट सरकारलाई ३ अर्ब ४८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । साउनमा आयात भएका दुईपाँग्रेमध्ये ८० प्रतिशतभन्दा बढी अनएसेम्बल रहेको विभागले जनाएको छ । हाल नेपालमा बजाज, टीभीएस, यामाहा, होण्डा, रोयल इनफिल्ड, हिरो र सीएफमोटो जस्ता ब्राण्डहरूले स्थानीयस्तरमै एसेम्बल गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार