काठमाडौँ । कर्णाली प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका–४ मा रहेको भालु व्यावसायिक चौरी फर्म चिज उद्योग सञ्चालनका लागि जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डिडीसी)बीच सम्झौता भएको हो।
सम्झौताअनुसार डिडीसीले उद्योग सञ्चालनका लागि याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। प्राविधिक सहयोगपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी गाउँपालिकाको हुनेछ भने गाउँपालिकाले उत्पादन गरेको चिज डिडीसीले खरिद गर्नेछ।
डिडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायाले शनिबार चिज उत्पादनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि डिडीसीले तत्काल काठमाडौंँबाट प्राविधिक टोली पठाएर उद्योग सञ्चालनको काम अघि बढाउने जनाएको छ। महाप्रबन्धक पाण्डेका अनुसार उद्योगबाट वार्षिक करिब ३० टन याक चिज उत्पादन गर्न सकिनेछ।
समुद्री सतहबाट चार हजार मिटरभन्दा बढी उचाइमा रहेको यो उद्योगले स्थानीय चौरीपालनलाई व्यावसायिक उत्पादनसँग जोड्ने अपेक्षा गरिएको छ। डोल्पा देशमै धेरै चौरीपालन हुने जिल्लामध्ये एक हो।



