काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ८४ जना नायब सुब्बा तहका कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो।
मन्त्रालयले दुई छुट्टाछुट्टै निर्णयका आधारमा कर्मचारीहरूको सरुवा सूची सार्वजनिक गरेको छ। पहिलो निर्णयबाट ४५ जना र दोस्रो निर्णयबाट ३९ जना गरी कुल ८४ जना सुब्बाहरूको सरुवा भएको छ।
सरुवामा परेका कर्मचारीहरू विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा मालपोत कार्यालयहरूमा कार्यरत थिए। उनीहरूलाई स्थानीय तह र अन्य विभिन्न सरकारी निकायहरूमा पठाइएको छ।
विभिन्न कार्यालयहरूमा देखिएको कर्मचारी अभाव पूर्ति गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ। प्रशासनिक कार्यलाई थप चुस्त र प्रभावकारी बनाउन सरुवा गरिएको मन्त्रालयको भनाइ छ।



