काठमाडौँ । कास्कीका तीव्र गतिले अनियन्त्रित भएको मोटरसाइकल पोल र बसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक पुरुष गम्भीर घाइते भएका छन्।पोखरा महानगरपालिका–१८ लामागाउँमा ग.२० प ६०९४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रुपा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीव्र गतिको मोटरसाइकल सुरुमा सडक छेउको विद्युतको पोलमा ठोक्किएको थियो।
मोटरसाइकल पोलमा ठोक्किएपछि लडेकी महिलालाई पुन: पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग.१ ख ४३३५ नम्बरको बसले किचेको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएकी विकलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बिक गम्भीर घाइते भएका छन्।टाउको र दायाँ कानमा चोट लागेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि बस चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।



