काठमाडौँ । काठमाडौँमा भएको एउटा लुटमा प्रहरीका सहायक हवलदार नै संलग्न देखिएका छन् । टोखामा भएको लुटपाटमा मा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई केही दिनअघि प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । सहायक हवलदार र सिन्धुपाल्चोक घर भएका जीवन घतानी बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए । प्रहरीले उनीहरूको साथबाट १ लाख २३ हजार नगद बरामद गरेको छ।
आरोपीहरूले एकजना व्यक्तिलाई सस्तोमा ‘खसीबोका मिलाइदिन्छौ’ भनेर टोखा क्षेत्रमा बोलाएर लुटेको प्रहरीको अनुसन्धानले देखाएको छ । पीडितले आफ्नो २५ लाख लुटपाट भएको दाबी गरेका छन् । तर, उनको दाबीबारे पनि अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । उनले भने, ‘दाबी अनुसारकै परिणाममा बरामद भएको छैन।’
प्रहरी वृत्त महाराजगञ्जले उनीहरूमाथि लुटपाट सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सहायक हवलदार शाही अस्पताल जान्छु भनेर निस्केका थिए। अस्पतालमा जाने बहाना बनाएर कार्यालयबाट निस्केर उनी टोखामा लुट्न गएको अनुसन्धानले देखाएको छ।



