Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवास

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि आयरल्यान्डको डब्लिनमा, २५ देशका १५० बढी प्रतिनिधि सहभागी हुँदै

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि आयरल्यान्डको डब्लिनमा, २५ देशका १५० बढी प्रतिनिधि सहभागी हुँदै

सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन सोमबारदेखि आयरल्यान्डको राजधानी डब्लिनमा सुरु हुँदैछ।

    युरोपमा रहेका नेपालीका साझा सवाल, नेपालसँगको सम्बन्ध, लगानी तथा गैरआवासीय नेपालीका अधिकारका विषयमा केन्द्रित रहने सम्मेलनमा २५ भन्दा बढी देशबाट १५० भन्दा बढी प्रतिनिधि तथा सहभागी हुँदैछन्।

    images

    सम्मेलनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली,एनआरएनए आईसीसी अध्यक्ष हेमराज शर्मा,बरिस्ठ उपाध्यक्ष रोविन शेरचन,उपाध्यक्ष रोजिना प्रधान राई,उपाध्यक्ष टीका गुरुङ,उपाध्यक्ष विश्वासदिप तिङ्गेला,प्रवक्ता सोम सापकोटा,सचिव माधव दुलाल,मध्यपुर्व संयोजक रमेश श्रेष्ठ लगायत विभिन्न देशबाट आएका अतिथि तथा प्रतिनिधि र एनआरएनए आईसीसीका पदाधिकारीहरू आयरल्यान्ड आइपुगेका छन्।

    आयरल्यान्ड पुगेका अतिथि तथा प्रतिनिधिहरूलाई एनआरएनए एनसीसी आयरल्यान्डले डब्लिन विमानस्थलमा स्वागत गर्दै होटलसम्म पिकअपको व्यवस्था गरेको थियो। सम्मेलनमा सहभागी पाहुनाहरूको सम्मानमा एनसीसी आयरल्यान्डले आईतवार रात्रीभोजसमेत आयोजना गरेको थियो।

    डब्लिनस्थित होटल र्‍याडिसनमा सोमबार बिहान ९ बजेदेखि सुरु हुने सम्मेलनमा युरोपका विभिन्न मुलुकमा रहेका नेपाली समुदायका प्रतिनिधि, एनआरएनए अभियन्ता, पदाधिकारी तथा अतिथिहरूको सहभागिता रहेको छ।सम्मेलनमा गैरआवासीय नेपालीका समसामयिक विषयसँगै नेपाल र प्रवासबीचको सम्बन्धलाई थप मजबुत बनाउने, नेपालमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्ने, नागरिकता तथा आर्थिक अधिकार सुनिश्चित गर्ने विषयमा छलफल हुने बताइएको छ।

    त्यसैगरी, प्रवासमा रहेका नेपालीका सामाजिक तथा आर्थिक समस्या, दोस्रो पुस्ताका नेपालीको सहभागिता, युवा पुस्तालाई एनआरएनए अभियानसँग जोड्ने रणनीति, ज्ञान, सीप र प्रविधि हस्तान्तरण तथा नेपालमा लगानीका अवसर विस्तार गर्न सकिने सम्भावनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

    युरोप नेपालीका लागि रोजगारी, व्यवसाय, अध्ययन तथा स्थायी बसोबासको महत्वपूर्ण गन्तव्य बन्दै गएको अवस्थामा त्यहाँ रहेका नेपालीका समस्या र सम्भावनालाई संस्थागत रूपमा सम्बोधन गर्ने विषय पनि सम्मेलनको महत्वपूर्ण एजेन्डा बन्नेछ।

    सम्मेलनले युरोपका विभिन्न देशमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा साझा मुद्दामा एकीकृत धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ। नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिका बढाउने, उनीहरूले विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने तथा नेपालमा लगानीका लागि थप अनुकूल वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने विषयमा समेत सम्मेलनमा विचार–विमर्श हुने जनाइएको छ।

    एनआरएनए क्षेत्रीय सम्मेलनलाई प्रवासमा रहेका नेपालीको आवाजलाई एकीकृत गर्ने र नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। डब्लिनमा हुने १७औँ युरोप क्षेत्रीय सम्मेलनबाट गैरआवासीय नेपालीका साझा सवालमा ठोस निष्कर्षसहित आगामी कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।

        

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार