काठमाडौँ । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेश समितिको पहिलो अधिवेशन आगामी सेप्टेम्बर ६ मा स्पेनको बार्सिलोना शहरमा आयोजना हुने भएको छ। यसअघि अगस्ट ३ मा डेनमार्कको कोपनहेगनमा गर्ने निर्णय गरिएको अधिवेशन सचिवालय बैठकको निर्णयअनुसार मिति र स्थान परिवर्तन गरी बार्सिलोनामा सारिएको हो।
प्रवासी नेपाली मञ्च युरोपका सचिव शालिक थपलियाका अनुसार अधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। युरोपका विभिन्न देशबाट प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्ने गरी व्यवस्थापनको काम भइरहेको उनले बताए।
“यो अधिवेशन युरोपमा रहेका नेपालीहरूको संगठनात्मक एकतालाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर हुनेछ,” थपलियाले भने, “विभिन्न देशबाट प्रतिनिधिहरू आउने निश्चित भइसकेको छ र तयारी अन्तिम चरणमा पुगेको छ।”
अधिवेशनमा संगठनको भावी कार्यदिशा, युरोपभर संगठन विस्तार, नयाँ नेतृत्व चयन तथा प्रवासी नेपाली समुदायका साझा सरोकारका विषयमा छलफल हुने कार्यक्रम छ। विभिन्न देशबाट आउने प्रतिनिधिहरूको उपस्थितिले अधिवेशनलाई विशेष बनाउने आयोजकको विश्वास छ।
सचिव थपलियाका अनुसार अधिवेशनमा नेकपा (एमाले) का वरिष्ठ नेताहरूलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। उनीहरूको सहभागिताबारे सम्बन्धित पक्षबाट अन्तिम पुष्टि हुने क्रममै रहेको उनले बताए।



