काठमाडौं । नेपाल जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा २५ जुलाई २०२६ मा एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा तथा नेपाल पत्रकार महासंघका सबै वैदेशिक शाखा (युरोप, युके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत शाखा)को सहआयोजना तथा महासंघसँग आबद्ध संस्था नेपाल अमेरिका पत्रकार संघ र नेपाल अस्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्मेलन गरिएको हो।
महासंघ अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्य तथा महासंघका उपाध्यक्ष पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, सातै प्रदेशका अध्यक्ष, तीन जिल्ला शाखाका अध्यक्ष, जापान पत्रकार महासंघका पदाधिकारी र सदस्य, सञ्चारकर्मी र नागरिक समाजका विभिन्न संस्थाका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका थिए।
सम्मेलनले प्रवास पत्रकारिताको समग्र समीक्षा गर्दै नेपालको लोकतान्त्रिक मूल्य मान्यता, संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको व्यावसायिक तथा भौतिक सुरक्षा र प्रवासमा रहेका नेपाली पत्रकारको महासंघसँगको संस्थागत आबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ ९ बुँदे टोकियो घोषणापत्र जारी गरेको छ।




