काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं साधारण सभाको बन्दसत्र स्थगित भएको छ ।
संघले असार १७ गते सोमबार ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । तर उक्त दिन उद्घाटनसत्र भएपनि विधानअनुसार गणपुरक संख्या नपुगेका कारण बार्षिक साधारण सभाको बन्दसत्र स्थगित भएको हो ।
सभाको बन्दसत्रमा कार्यसमितिको तर्फबाट पेश भएको विधान संशोधनको प्रस्तावमा दिनभर छलफल भएपनि फरक–फरक धारणा आएको थियो ।
विधानमा सहमति नभएपछि गणपुरक संख्या नपुगेको भन्दै बन्दसत्रको कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघले ९४२ साधारण सदस्य रहेकोे बताएको छ । उद्घाटनसत्रमा करिब ५ सय व्यवसायी उपस्थित रहेकोमा बन्दसत्रमा २ सयमात्रै व्यवसायी उपस्थित रहेका थिए ।
संघको विधानले साधारण सभाका लागि कूल सदस्यको ५१ प्रतिशत उपस्थिति अनिवार्य गरेको छ । अर्को साधारण सभा सात दिनभित्र बोलाउनुपर्ने प्रावधान छ ।
तर सात दिन भन्नाले गणपुरक संख्या नपुगेको साधारण सभाको दिनले सात दिन हो वा कार्यसमितिले निर्णय गरेकोे सात दिन हो भन्ने विषयमा फरक–फरक बुझाइ रहेको छ ।



