काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक रहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
दुवै लगानीलाई सम्वर्द्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो सर्त सरकारको तर्फबाट कानुनहरुमा सुधार, नीतिहरुमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता महसुस भएको बताए।
उनले एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका जटिलताहरु रहेको भन्दै जटिलता फुकाउन लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिएको बताए। उनले लगानी सम्मेलन कति सफल/असफल भएकोबारे समीक्षा हुने पनि बताए।
मन्त्री भण्डारीले लगानीका लागि संशोधनको प्रस्ताव गरिएको ऐन पनि पर्याप्त नरहेको तर सरकारले सुरुवात गरेको बताए।



