कोशी प्रदेशमा औद्योगिक क्षेत्रमा कार्यरत श्रमीकहरूको संख्या ०.९ प्रतिशतले बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक बर्ष २०७९/८० को पुष मसान्तसम्मको तुलनामा चालु आर्थिक बर्षको सोही अवधीसम्ममा कोशी प्रदेशमा औद्योगिक क्षेत्रमा कार्यरत श्रमीकहरूको संख्या ०.९ प्रतिशतले बढेको पाइएको हो ।
उक्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा ४३ वटा उद्योगहरु सञ्चालनमा रहेका छन् । गत आ.व.२०७९/८० को पहिलो ६ महिनामा
१७ हजार ५५८ जना श्रमिक कार्यरत रहेकोमा समीक्षा अवधिमा ती उद्योगहरुमा जम्मा १७ हजार ७२० जना श्रमिक कार्यरत रहेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशतले बढी रहेको छ ।
प्रतिवेदन अनुसार सुनसरी र मोरङ जिल्लाका उद्योगहरुमा क्रमशः २.६ प्रतिशत र ०.२ प्रतिशतलेथप रोजगारी सिर्जना भएको छ भने भने इलाम, झापा र उदयपुर जिल्लामा रहेका उद्योगहरुबाट क्रमशः १४.७ प्रतिशत, ९.४ प्रतिशत र ८.४ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।
समीक्षा अवधिमा औद्योगिक रोजगारीमा पुरुषको संख्या ६८.४ प्रतिशत र महिलाको संख्या ३१.६ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रका उद्योगहरुमा कुल औद्योगिक रोजगारीको ९२.४ प्रतिशत श्रमिक स्वदेशी र ७.६ प्रतिशत श्रमिक विदेशी रहेका छन् ।
विशेष गरी फलामको छड, पत्ति तथा सामान, ईटा, धागो र जुटका सामान उत्पादन गर्ने उद्योगहरुमा तुलनात्मक रुपमा अन्य उद्योगहरुमा भन्दा बढी अनुपातमा विदेशी कामदारहरुलाई रोजगारी प्रदान गरिएको देखिन्छ ।




