काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि २३०० जनाको माग खुलाएको छ। खुलाइएको कोटाअनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार छनोट गरिनेछ।
छनोट भएका कामदारले मासिक ६४४३.८५ इजरायली मुद्रा अर्थात् करिब ३ लाख ४७ हजार रुपैयाँभन्दा बढी तलब पाउनेछन्। साथै इजरायली कानुनअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध गराइने विभागले जनाएको छ।
सूचनाअनुसार कामदारले हप्तामा ६ दिन तथा ४२ घण्टा काम गर्नुपर्नेछ। प्रारम्भिक करार अवधि १ वर्षको रहनेछ भने आवश्यकता अनुसार थप गर्दै अधिकतम ५ वर्षसम्म काम गर्न सकिने व्यवस्था गरिएको छ।
आवेदन दिन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्ने तथा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी १५ महिने अध्ययन पूरा गरेको हुनुपर्नेछ। वैकल्पिक रूपमा प्लस टु वा सो सरहको योग्यता हासिल गरी मान्यता प्राप्त संस्थाबाट केयर गिभिङसम्बन्धी ३ महिने तालिम लिएको हुनुपर्ने जनाइएको छ।
त्यस्तै न्यूनतम १.५ मिटर उचाइ र ४५ किलो तौल अनिवार्य गरिएको छ। यसअघि इजरायलमा काम नगरेका तथा परिवारका सदस्य इजरायलमा बसोबास वा कार्यरत नरहेका व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको विभागले जनाएको छ।
अनलाइन आवेदन २०८३ जेठ १७ गते राति १२ बजेदेखि खुल्नेछ भने असार ७ गते राति १२ बजेसम्म आवेदन दिन सकिनेछ। आवेदन वैदेशिक रोजगार विभाग तथा एफ.इ.आर.यम पोर्टल मार्फत दिन सकिने विभागले जनाएको छ।
विभागका अनुसार यो कार्यक्रमले नेपाली युवालाई आकर्षक आम्दानीसहित अन्तर्राष्ट्रिय रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।



