काठमाडौँ । नेपाली श्रमिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र कानुनी रूपमा संरक्षित बनाउन सरकारले १६ वटा नयाँ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने पहल थालेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय ले परराष्ट्र मन्त्रालयमार्फत एसिया, युरोप र अष्ट्रेलिया क्षेत्रका विभिन्न देशलाई श्रम सम्झौताका लागि प्रस्ताव पठाएको हो।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे का अनुसार प्रस्ताव पठाइएका १६ देशमध्ये हालसम्म कुनै पनि मुलुकबाट औपचारिक प्रतिक्रिया प्राप्त भएको छैन।
नेपालले हालसम्म १३ मुलुकसँग मात्र श्रम सम्झौता गरेको छ। तर विश्वका १७० भन्दा बढी देशमा नेपाली नागरिक रोजगारीमा रहेका छन्।
श्रम सम्झौता नभएका मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमार्फत जाने कामदारको संख्या उल्लेखनीय छ। मन्त्रालयका अनुसार कुल श्रम स्वीकृतिमध्ये करिब ४८ प्रतिशत व्यक्तिगत रूपमा लिइने गरिएको छ।
नेपालको वैदेशिक रोजगारी ऐन, २०६४ ले विदेशी मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्न सक्ने कानुनी व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार सरकारले नयाँ श्रम गन्तव्य मुलुकसँग सम्झौता विस्तार गर्न खोजेको हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ ले श्रम सम्झौताले कामदारका अधिकार सुनिश्चित गर्नुका साथै समस्या पर्दा दुई देशबीच सरकारी समन्वयलाई प्रभावकारी बनाउने बताए।
उनले नेपाली श्रमिकलाई शोषण, न्यून पारिश्रमिक र असुरक्षित वातावरणबाट जोगाउन प्रमुख श्रम गन्तव्य मुलुकसँग सम्झौता अनिवार्य रहेको उल्लेख गरे।



