काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको १७ गतेदेखि कोशी प्रदेशको विराटनगरबाट शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ ।मेला आज बाग्मती प्रदेशको ललितपुरमा समापन हुन लागेको हो ।
ललितपुरको पाटन बहुमुखी क्याम्पसमा हिजोदेखि श्रमाधान रोजगार मेला भइरहेको छ ।मेलामा विभिन्न ८० स्टल रहेका छन् ।
सरकारले रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले देशका सात वटै प्रदेशमा मेला गरेको हो ।कोशीको विराटनगरमा गएको जेठ १७ र १८ मा, मधेशको जनकपुरमा जेठ १९ र २० मा, गण्डकीको पोखरामा जेठ २१ र २२ मा, लुम्बिनीको बुटवलमा जेठ २३ र २४ मा, कर्णालीको सुर्खेतमा जेठ २५ र २६ मा तथा सुदूरपश्चिमको धनगढीमा जेठ २७ र २८ मा मेला भएको हो ।
मेला अन्तर्गत अहिलेसम्म १० हजारभन्दा धेरै युवाले रोजगारीका लागि आवेदन दिएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसमध्ये एक हजार युवालाई रोजगारी सुनिश्चित भएको र १६ सय भन्दा धेरैलाई विभिन्न उद्योग प्रतिष्ठानले रोजगारीका लागि अन्तर्वार्तामा बोलाएको मन्त्रालयको भनाई छ ।



