काठमाडौँ । सिजनल भिसामा विदेश जान लागेकाहरूसँग रकम माग्ने ट्राभल्सका सञ्चालकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएर लाजिम्पाट स्थित केएनसी इन्टरनेशनल प्रालि ट्राभल्सका सञ्चालक जगत गुरुङ छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा गुरुङलाई लाजिम्पाटबाट पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । सिजनल भिसामा विदेश जान खोजेका दम्पतीसँग उनले ‘अध्यागमनमा सेटिङ मिलाउनुपर्छ’ भनेर १ लाख १० हजार रुपैयाँ मागेको आरोप छ । गुरुङले विदेश जान खोजेकाहरूसँग लिएको अवस्थामा १ लाख नगद पनि बरामद गरिएको निर्देशक ढकालले बताए । उनले भने, ‘नगद सहित पक्राउ गरेका छौँ ।’
दक्षिण कोरियामा कृषि क्षेत्रमा ६ देखी ८ महिना काम गर्न सिजनल भिसामा जानेहरूले श्रम स्वीकृति लिनु पर्दैन । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पनि त्यस्तो भिसा भएकाहरूलाई सहजै प्रस्थान अनुमति दिने गरेको ढकालले बताए ।
तर, आरोपीले उनीहरूलाई रकम बुझाएपछि मात्रै श्रम स्वीकृति पाइने र अध्यागमन डेस्कमा पनि रकम बुझाउने पर्ने भन्दै रकम मागेको आरोप छ । उनलाई थप अनुसन्धान र कारबाहीको लागि प्रहरीलाई जिम्मा लगाइने निर्देशक ढकालले बताए ।



