काठमाडौँ । देशमै प्रशस्त अवसर भएको दावी राज्यको तर्फबाट गरिएपनि देश छोडेर वैदेशिक रोजगारीमा जानेको संख्या भने दैनिक बढ्दो छ । चालु आर्थिक वर्षको १० महिनामामात्रै तीन लाख ७४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये यूएईमा मात्रै १ लाख २ हजारव ८४४ र मलेसियामा ७४ हजार ७०७ जना पुगेका छन् । नेपाल राष्ट्रबैंकको तथ्यांकले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा तीन लाख ७४ हजार २७९ नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । पहिलो पटक श्रम स्वीकृति लिएर विभिन्न २० देशमा नेपाली श्रमिक गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै सोही अवधिमा दुई लाख ३७ हजार ८९३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । त्यसरी पुनः श्रम स्वीकृति लिने समेत विभिन्न २० देशकै लागि रहेका छन् ।
यूएई र मलेसिया बाहेक साउदी अरेबियामा ५८ हजार २५८, कतारमा ३४ हजार २०२, कुवेतमा २४ हजार ४८८, साउथ कोरियामा १० हजार ९८८, रोमानियामा ८,९१९, जापानमा आठ हजार ७२०, माल्दिभ्समा चार हजार ८३१, साईप्रसमा चार हजार ४११, माल्टामा चार हजार ३७१, बहराइनमा तीन हजार ८०७, ओमानमा दुई हजार ३९८, पोल्याण्डमा एक हजार ५५५, जोर्डन एक हजार ५८, इजरायल १०३, टर्की ९० जना, अफगानिस्तान २७, लेबनान १३ र अन्य विभिन्न मुलुकमा २८ हजार ६४२ जना रोजगारीको निम्ति पुगेका छन् ।



