काठमाडौं । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
‘नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदिश खरेलले भने ‘नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र इजरायलसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृत प्रदान गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।
ओमानसँग कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्षपछि सम्झौता
नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध कायम भएको झन्डै ५० वर्षपछि श्रम सम्झौता हुन लागेको हो । नेपाल र ओमानबीच सन् १९७७ (२०३४) मा कूटनीतिक सम्झौता कायम भएको थियो ।
यसअघि ओमानले सम्झौताको मस्यौदा ठिक छ भनेर नेपाललाई पत्र पठाएको थियो । सरकारले स्वीकृति प्रदान गरेसँगै अब सम्झौतामा हसताक्षर हुनेछ । नेपाल र ओमानबीच २२ वैशाख २०७६ मा श्रम सम्झौताको मस्यौदा तयार भएको थियो । काठमाडौंमा भएको उच्चस्तरीय प्राविधिक बैठकले मस्यौदा तयार पारेर शून्य लागतमा कामदार पठाउने गरी सैद्धान्तिक सहमति भएको थियो ।
सम्झौतामा नेपालले गर्नुपर्ने दायित्व, ओमान सरकारको जिम्मेवारी, रोजगारदाताले गर्नुपर्ने कार्य लगायत विषय उल्लेख रहेको मन्त्रालयले जनाएको छ । ओमानमा हाल २५ हजार हाराहारी नेपाली श्रमिक रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
ओमानमा विशेषगरी घरेलु श्रमिकका रूपमा नेपाली महिला जाने गरेका छन् । जबकि, घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध छ । तर, पनि अवैध बाटो तथा भिजिट भिसामार्फत नेपाली महिलालाई ओमान, कुवेत लगायत देश पठाउने गरेको पाइन्छ ।
नेपाल र ओमानबीच सहमति जुटिसकेको मस्यौदालाई अन्तिम रूप दिन लामो समय लागेको थियो । ओमानसँग पटक–पटक श्रम सम्झौता गर्न प्रस्ताव आदान–प्रदान भएका थिए । तर, सहमति हुन सकेको थिएन ।
सहमति जुटेका बेला ओमानले एकाएक आफ्ना श्रम कानुन परिवर्तन गरेको थियो । त्यसपछि जुटिसकेको सहमति समेत अघि बढ्न सकेको थिएन र श्रम सम्झौता टरेको थियो ।
१० भदौ २०८१ मा ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदी नेपाल भ्रमणमा आएका थिए । भ्रमण क्रममा श्रम सम्झौतामा समेत हस्ताक्षर गर्ने भन्ने थियो । तर, नेपाली पक्षले मस्यौदामा धेरै विषय र नयाँ–नयाँ अडान राखेको भन्दै सम्झौतामा हस्ताक्षर गर्नबाट ओमान भड्किएको थियो ।
त्यो बेला नेपालले श्रम सम्झौता र नेपाली श्रमिकको हितको विषय जोडमा साथ उठाएको थियो । ओमानको श्रम कानुन र श्रम गर्ने वातावरण राम्रो बनाउनेबारे नेपालले उठाएका विषयमा ओमानले सकारात्मक जवाफ दिएको थियो ।
सरकारी संयन्त्र मार्फत नेपाली श्रमिक (केयरगिभर) इजरायल पठाउन १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ भएको थियो । सम्झौता भएको पाँच वर्षपछि नवीकरण प्रक्रिया अगाडि बढेको थियो । २०७७ को सम्झौतामा स्वतः नवीकरण हुने प्रावधान नराखिएकाले त्यही सम्झौतालाई नयाँ सम्झौताको रूपमा बढाइएको थियो ।
इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६० वर्ष पुगेको अवसरमा २०७७ सालमा दुइटा सम्झौता गरिएको थियो । श्रम सम्झौता र नेपालको कृषिलाई प्रविधि मार्फत आधुनिकीकरण गर्न ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेस’ स्थापना गर्न सम्झौता गरिएको थियो ।
२०७७ सालमै गरिएको सम्झौतालाई निरन्तरता दिन लागिएको श्रम मन्त्रालयले जनाएको छ ।



