Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि, एकै वर्षमा २८ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि, एकै वर्षमा २८ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

बुधवार, मंसिर १० २०८२
  • काठमाडौं । कर्णालीका कैयन् नागरिकहरू मौसमी रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।

    गाउँमा खेती लगाउने, चाडपर्वमा फर्कने र भारतमा रोजगारी गर्ने ‘मुग्लानिया’ परम्परा कर्णालीको विगतदेखिकै हो । तर, पछिल्लो समय तेस्रो मुलुक जानेहरूको संख्यामा पनि वृद्धि हुँदै आएको छ ।

    images

    वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशबाट नयाँ श्रम स्वीकृति लिई तथा पुनः श्रम स्वीकृति सहित वैदेशिक रोजगारीमा जानेको कुल संख्या २८ हजार ५८ पुगेको छ ।

    यो संख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा ११.८७ प्रतिशतले बढी रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले जनाएको छ ।

    प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि प्रदान गरिएको कुल श्रम स्वीकृतिमध्ये कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत रहेको छ । यस अवधिमा नयाँ श्रम स्वीकृति लिई बिदेसिनेको संख्या २० हजार ८८६ रहेको छ, जुन त्यसअघिको वर्षको तुलनामा १६.०६ प्रतिशतले बढी हो ।

    वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिएर जाने गरेको पाइएको छ भने केहीले विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गरी स्वरोजगारमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।

    जिल्लागत तथ्यांकअनुसार सल्यान जिल्लाबाट सबैभन्दा बढी ५ हजार २६१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति सहित कुल ७ हजार ५८७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी, सुर्खेतबाट ४ हजार ४८८ जना नयाँ र कुल ६ हजार ३८७ जना, तथा दैलेखबाट ३ हजार २२९ जना नयाँ र कुल ४ हजार २८८ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

    रुकुम पश्चिमबाट नयाँ २ हजार ६७ र कुल २ हजार ८५९ जना, जाजरकोटबाट २ हजार ५४ नयाँ र कुल २ हजार ५१८ जना रहेका छन् । यस्तै, कालिकोटबाट ८४४ नयाँ र कुल १ हजार २५ र जुम्लाबाट १ हजार ४७ नयाँ र कुल १ हजार २५५ जना वैदेशिक रोजगारीमा गएका छन् ।

    यसैगरी, डोल्पा, मुगु र हुम्ला जस्ता हिमाली जिल्लाहरूबाट भने अन्य जिल्लाको तुलनामा कम संख्यामा वैदेशिक रोजगारीमा गएको प्रतिवेदनले देखाएको छ । डोल्पाबाट नयाँ श्रम स्वीकृति लिई जानेको संख्या ६०९ र कुल ६८८ रहेको छ भने मुगुबाट नयाँ ६१५ र कुल ६८६ जनाले श्रम स्वीकृति लिएका छन् । हुम्लाबाट नयाँ श्रम स्वीकृति लिई जानेको संख्या ६७२ र कुल ७६५ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार