Oct 28 2026 | २०८३ कार्तिक १२ गते

धनगढी रोजगार मेलामा एक हजारलाई रोजगारी

धनगढी रोजगार मेलामा एक हजारलाई रोजगारी

सोमवार, जेठ २८ २०८१
  • धनगढी , सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ ।शुरु भएको पहिलो दिन मेलामा २२ सय ५० जनाले रोजगारीका लागि आवेदन दिएका थिए । जसमध्य एक हजार जनाले रोजगारी प्राप्त गरेको आयोजकले जनाएको छ ।

    मेलामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट युवाहरु रोजगारीबारे जानकारी लिन तथा आवेदन दिनका लागि सहभागी भएका थिए । मेलामा रोजगारीबारे जानकारी लिने युवाहरु, निजी क्षेत्रका रोजगारदाता, रोजगारसम्बन्धी सरोकारवाला संघ संस्थाहरुको ठूलो उपस्थिति रहेको थियो । मेलामा आन्तरिक रोजगार सम्बन्धित निजी क्षेत्र, वैदेशिक रोजगारसम्बन्धी जानकारी गराउने सरकारी निकाय, सामाजिक सुरक्षा कोषबारे जानकारी गराउने उद्देश्यका साथ ३७ वटा स्टलहरु रहेका छन् ।

    images

    मेलाको आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् । उनले उद्यमशीलता र रोजगारी वर्तमान अवस्थामा अतिआवश्यक रहेकाले मेलाले रोजगारदाता र रोजगार खोज्नेबीच समन्वय कायम हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सुदूरपश्चिममा धेरै  बेरोजगारी रहेको बताए । सुदूरपश्चिम प्रदेशका नागरिक रोजगारीको खोजीमा भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन् । केही युवाहरु तेस्रो मुलुकमा समेत रोजगारीका लागि जाने गरेका छन् ।उनले भने, ‘हामी तीनै तहको सरकार यहाँ छौं । यो भिडले अबको आवश्यकता देखाएको छ । अबको युवालाई रोजगारी चाहियो । अबको युवालाई सीप चाहियो ।’

    सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले कृषिमा शून्य प्रतिशत ब्याजमा ऋण दिने गरेको बताइन् । उनले भनिन्, ‘मार्गदर्शन छ । किसानलाई परिचयपत्र पनि दिएका छौं । विदेशबाट फर्किएका युवालाई शून्य व्याजमा ऋण पनि दिएका छौं ।’श्रमाधान मेला जेठ १७ देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भइ यही जेठ ३० गेत बागमती प्रदेशको ललितपुरमा समापन हुने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार