काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ११ महिनाको अवधिमा ठगीसँग सम्बन्धित उल्लेख्य उजुरी प्राप्त भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनाको अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा ५ हजार ५५४ वटा उजुरी प्राप्त भएको जनाएको छ ।
विभागले सार्वजनिक गरेको प्रगतिविवरणअनुसार आर्थिक वर्ष ०८१/०८२ मा ठगीका ४ हजार ९७४ उजुरी प्राप्त भएका थिए । यस्तै साउन महिनामा थप ५८० वटा उजुरी प्राप्त भएको विभागको भनाइ छ ।
यसअघि असार महिनामा भने ६८१ वटा उजुरी परेका थिए । विभागका अनुसार गत आर्थिक वर्षमा परेका उजुरीमध्ये ५२८ वटा मिलापत्र गराइएको छ भने २१५ वटा उजुरी अदालत पुगेको छ । जसबाट ३२ करोड ८७ लाख भन्दा बढी रकम क्षतिपूर्ति भराइएको छ ।
यस्तै साउन महिनामा ५८० मध्ये ७४ वटा उजुरीमा मिलापत्र गराइएको छ भने २६ वटा मुद्दा अदालतमा पुगेको छ । मिलापत्रबाट साढे ३ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति भराइएको विभागले जनाएको छ ।
यसैगरी विभागकै प्रहरी शाखामा ५ हजार ३३७ वटा उजुरी दर्ता भएका छन् । जसमा १२ वटा मिलापत्र हुँदा ४ हजार ८७६ मुद्दा फर्छ्योट गरिएको छ । यस्तै ४४९ वटा उजुरी अझै फर्छ्यौट हुन बाँकी रहेको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार साउन महिनामा प्रहरीको मुद्दा शाखामा पनि थप ५२२ वटा मुद्दा दर्ता भएका थिए । जसमा ४४३ वटा मुद्दा फर्छ्यौट हुँदा अझै ७९ वटा मुद्दा बाँकी रहेको छ ।



