काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ६४ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् ।
क्वालालम्पुरस्थित नेपाली दूतावासकी काउन्सेलर तथा नियोग उप-प्रमुखमुदिता बज्राचार्यका अनुसार हत्या अभियोगमा १९ ,फौजदारीमा ३१,लागुऔषधमा २८, लागुऔषध र मिश्रित २१ र आप्रवासन सम्बन्धी मुद्धामा ६५ जना नेपाली रहेको बताईन्।
साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको काउन्सेलर तथा नियोग उप-प्रमुख बज्राचार्यले बताईन् । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्या लगायत कारण नेपालीहरु पक्राउ पर्ने गरेका छन्।
दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ । गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको छ ।
अहिले मलेसियन सरकारले कागजात नभएका आप्रवासीहरूका लागि आप्रवासी स्वदेश फिर्ती कार्यक्रम पीआरएम २.० संचालन गरिरहेको छ। यो कार्यक्रम अप्रिल ३०, २०२६ सम्म चल्नेछ। पीआरएम २.० अन्तर्गत, वैध पास बिना मलेसियामा प्रवेश गर्ने वा बस्ने व्यक्तिहरू, साथै अनुमति दिइएको अवधिभन्दा बढी बस्नेहरूलाई ५०० मलेसियन रिंगेट चक्रीय जरिवाना तिर्नुपर्ने छ ।
पास सर्तहरूको उल्लङ्घनको लागि ३०० रिंगेट चक्रीय जरिवाना तिरेर स्वदेश फर्कन सक्नेछन् । आवेदकहरूले विशेष पासको प्रत्येक जारीको लागि २० रिंगेट तिर्नुपर्ने छ। गैरकानुनी नेपालीले घर फर्कनको लागि पासपोर्ट अथवा यात्रा अनुमतिपत्र “ट्राभल डकुमेन्ट” साथमा हुनुपर्ने ।
१४ दिन भित्रको हवाई टिकट खरिद गर्नुपर्ने । मलेसियामा भएको नजिकैको जुनसुकै अध्यागमन विभागको कार्यालयमा गएर जरिवाना रकम तिर्न सकिने ।अपोइन्टमेन्ट लिनु नपर्ने। जरिवाना रकम तिर्नलाई डेबिट अथवा क्रेडिट कार्ड हुनुपर्ने छ । घर फर्किन जरिवाना शुल्क ५०० रिंगेट र स्पेशल पासको लागि २० रिंगेट गरी ५२० तिर्नुपर्ने छ ।
नेपालीहरु कसरी पर्छन् जेलमा ?
रोजगारीको खोजीमा मलेसियामा सबैभन्दा बढी संख्यामा नेपालीहरु पुग्छन् । करार अवधिभन्दा लामो समयसम्म बस्ने कतिपय नेपालीहरु जेलजीवन बिताउन बाध्य छन्। एउटा कम्पनीका लागि श्रम स्वीकृति लिएर गएका नेपालीहरु सो कम्पनीबाट भागेर अन्यत्र जाँदा पनि अवैध बन्ने गरेका छन्। कुटपीट, होहल्ला, नियमको उल्लङ्घन, झै–झगडालगायत विभिन्न कारणबाट समेत उनीहरु जेलजीवन बिताउन बाध्य छन् ।



