काठमाडौं । संयुक्त राज्य अमेरिकाले गाजामा ६० दिनको युद्धविराम प्रस्ताव गरेको छ । जसमा पहिलो हप्तामा २८ जना इजरायली बन्धकहरू (जीवित र मृत) को रिहाइ, १२५ जना आजीवन कारावास सजाय पाएका प्यालेस्टिनी कैदीहरूको रिहाइ र १८० मृत प्यालेस्टाइनीहरूको शव फिर्ता गर्ने योजना समावेश छ ।
यो प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजिप्ट र कतारले ग्यारेन्टी गरेका छन् । हामासले सम्झौतामा सहमति जनाएलगत्तै गाजामा मानवीय सहायता पठाइनेछ । स्थायी युद्धविराम लागू भएपछि हामासले बाँकी ३० बन्धकहरू रिहा गर्नेछ ।
इजरायलले यो प्रस्ताव स्वीकार गरेको व्हाइट हाउसले बिहीबार जनाएको छ । प्यालेस्टिनी लडाकु समूह हामासले यो योजनाको समीक्षा गरिरहेको र मे ३१ वा जुन १, २०२५ मा जवाफ दिने बताएको छ ।
यसअघि मार्चमा युद्धविराम भंग भएपछि हामास र इजरायलबीचको गहिरो मतभेदका कारण नयाँ सम्झौता हुन सकेको थिएन । इजरायलले हामासलाई पूर्ण रूपमा निस्शस्त्र गर्न र गाजामा रहेका सबै ५८ बन्धकहरू फिर्ता गर्नुपर्ने अडान राखेको छ, भने हामासले इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्ने र युद्ध अन्त्यको प्रतिबद्धता जनाउनुपर्ने माग गरेको छ ।
यो द्वन्द्व सन् २०२३, अक्टोबर ७ मा हामासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको थियो, जसमा इजरायली तथ्यांकअनुसार १,२०० मानिस मारिए र २५१ जना बन्धक बनाइए । त्यसपछिको इजरायली सैन्य कारबाहीमा गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार ५४,००० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ र गाजा ध्वस्त भएको छ । एजेन्सी



