काठमाडौं । आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ बिराटनगर र जनकपुरमा सम्पन्न भइसकेको छ भने अहिले गण्डकी प्रदेशको पोखरामा यो सम्पन्न हुने क्रममा छ ।
पोखरामा सम्पन्न हुने लागेको यो मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको हो ।
होटल संघ नेपाल (हान) को संयोजन र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ जस्ता सरोकारवाला संस्थाहरुको सहआयोजनामा सम्पन्न हुन लागेको मेलाको उद्देश्य श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्नु रहेको छ ।
रोजगारी दिने र खोज्नेहरुबीच मेलामा प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध छ । मेलामा बायोडाटा निर्माण सिकाइ, रोजगारदाता, वैदेशिक रोजगार तथा कल सेन्टर बुथलगायतका कम्तीमा ३५ वटा स्टल तथा बुथहरु हुने बताइएको छ ।
श्रमाधान रोजगारको संयोजकसमेत रहेकी उपसचिव शारदा भण्डारीले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन् । ‘मेलाले आजको भोलि नै देशभित्रै रोजगारी दिन्छ भन्ने होइन । यो शुरुवात हो । यसबाट बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइको बाध्यता विस्तारै कम गर्ने सरकारको उद्देश्य हो ।’ –भण्डारीले भनिन् । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।



