Oct 30 2026 | २०८३ कार्तिक १४ गते

शिक्षक आन्दोलन

२८ दिनदेखि शिक्षकहरू सडकमा, अझै निस्किएन निकास

२८ दिनदेखि शिक्षकहरू सडकमा, अझै निस्किएन निकास

मंगलवार, बैशाख १६ २०८२

  • काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू २८ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षकहरूले आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले गत २० चैतदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै आएका हुन् ।

    आन्दोलनको २६औं दिन गत (आइतबार) प्रहरीले बल प्रयोग गर्दा ६२ जना शिक्षक घाइते भएपछि सोमबारबाट शिक्षकहरूले आन्दोलन चर्काएका छन् । प्रहरीको दमनपछि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनमा घरमै बसेका शिक्षकलाई तत्काल आउन आह्वान गरेको थियो । सोहीअनुसार सोमबार थप शिक्षकहरू आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघले बताएको छ ।

    images

    सोमबारको आन्दोलनमा सहभागी शिक्षकहरूले प्रहरीबाट शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै नाराबाजी गरे । उनीहरूले ‘पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन’, ‘प्रहरी दमन बन्द गर,’ ‘पञ्चायतकालको शिक्षा ऐन खारेज गर,’जस्ता नारा लगाएका थिए । शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेपछि उनीहरू आक्रोशित बनेका छन् । उनीहरूले सरकारको लाठी, पानीको फोहोरा, प्रहरी बुटसमेत पचाइसकेको भन्दै गोली खानसमेत तयार रहेको चेतावनी दिएका छन् ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाए । सुवेदीले सत्तामा बस्नेहरू थाक्नसक्ने तर आफूहरू आन्दोलनबाट नभाग्ने चेतावनी दिए ।

    उनले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताए । सरकारले आफूहरूको आन्दोलनमा ‘भिजलान्ते’ पठाएर प्रहरी दमन गरिएको जिकिर गरे । अध्यक्ष सुवेदीले आइतबारको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको तर शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताए ।

    सुवेदीले शिक्षकहरूको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्तावेज भएको बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार