काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ । बद्री केसी नेतृत्वको एनआरएनए उपाध्यक्ष रोजिना राईसहित ३ जनाले घलेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएका हुन् ।
उक्त मुद्दाको पेसी मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । सर्वोच्च अदालतले गत साउनमा दिएको फैसलाविपरीत गतिविधि गरेर अदालतको अवहेलना गरेको जिकिर रिट निवेदकको छ ।
एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्च अदालतले २०८० चैतमा एकताको महाधिवेशन गर्न सर्वोच्चले परमादेश दिएको थियो । सोही फैसलाको आधारमा परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई काम गर्न रोक लगाएपछि उनी अदालत पुगेका थिए । सो मुद्दामा सर्वोच्चले साउनमा फैसला गर्दै कामकाज गर्ने बाटो खुला गरिदिएको थियो । त्यसपछि केसीले आफू आधिकारिक रहेको जिकिर गर्दै आएपनि घलेले एकता महाधिवेशनको प्रक्रिया अघि बढाएका छन् । जसअनुसार घलेले एकताको महाधिवेशन वैशाख २० देखि काठमाडौँमा तय गरेपछि थप दुई वटा मुद्दा पनि अदालतमा विचाराधीन छ ।
उक्त मुद्दाको पनि आजै न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ । जुन मुद्दामा एक मुद्दा एकताको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने भन्ने रहेको छ भने अर्कोचाहिँ सार्न माग गर्दै दायर भएको हो।



