काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन तोकिएकै मितिमा हुने भएको छ । एनआरएनए उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरका अनुसार एकताको महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौँमा भइ छाड्ने बताए ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको पत्र, सर्वोच्चको परमादेश र परराष्ट्रले गरेको पत्राचारविरुद्ध दायर भएको रिटमा अदालतले दिएको आदेशका आधारमा तोकिएकै मितिमा महाधिवेशन भइ छाड्ने उनको भनाइ छ । उनले कोही पनि महाधिवेशन हुँदैन कि भनेर भ्रममा पर्नु नहुने उनले बताए ।
उच्चस्तरीय समितिले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महाधिवेशन पर सर्ने भनी गरिएको प्रचार भ्रमपूर्ण भएको स्पष्ट पारेको छ । “महाधिवेशन सार्न भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गरिए पनि त्यो निवेदनका आधारमा कुनै अन्तरिम आदेश जारी नभएकाले तोकिएको मितिमै महाधिवेशन गर्नमा कुनै पनि अवरोध छैन,” कुँवरले भने ।
उच्चस्तरीय समितिले बुधबार एक प्रेस विज्ञप्ति समेत जारी गर्दै डेलिगेट्स बन्नका लागि आवेदन दिने प्रक्रिया सकिएको र निर्धारित समयभित्र ३,१८१ जनाले आवेदन दिएको जानेको छ । ती आवेदनहरू हाल प्रमाणीकरणको चरणमा रहेको, निर्वाचन समितिले आफ्नो काम सुरु गरिसकेको र डेलिगेट्सहरू महाधिवेशनमा सहभागी हुन देश विदेशबाट काठमाडौँ आउने क्रम सुरु भै सकेको पनि समितिले जनाएको छ ।
यस्तो अवस्थामा केही पक्षबाट भ्रम सिर्जना गर्ने कामहरु भै रहेको पाइएकाले त्यस्तो भ्रममा नपर्न हामी हार्दिक अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ । “महाधिवेशन रोकिएको छैन। तोकिएको समयमै हुन्छ । त्यसैले कुनै पनि भ्रममा नपरी काठमाडौँ आएर एकता महाधिवेशन सफल बनाउन हामी सम्पूर्ण प्रतिनिधिज्यूहरुमा हार्दिक अपिल गर्दछौँ,” उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भनिन् । उसो त एकता महाधिवेशनको क्रममा नयाँ कार्य समितिको निर्वाचन गराउन गठित निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । निर्वाचन समितिले वैशाख १२ गते मतदाता प्रथम नामावली प्रकाशन गर्ने, वैशाख १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र वैशाख २० गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ । यसै गरी आइतबार, वैशाख २१ गते काठमाडौँमा बिहान ८ बजेदेखि अपराह्न ४ बजे सम्म मतदान हुने र मतगणना समाप्त भए पश्चात् निर्वाचनको परिणाम घोषणा गरिने पनि निर्वाचन कार्यक्रममा उल्लेख छ ।
यसैबीच एकता महाधिवेशनमा नेतृत्वका आकांक्षी आरके शर्माले विगतमा दायर गरेको आधिकारिकतासम्बन्धी मुद्दा अदालतले झिकाउने आदेश गरेको छ । एनआरएनएको एकता महाधिवेशन सार्न खोजिएपछि राजेश शमशेर राणाले परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा बुधबार न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले उक्त मुद्दा अवलोकनार्थ झिकाउने आदेश गरेको हो ।



