काठमाडौँ । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दायर गरेका छन् । डा। बद्री केसी, डा। हेम राज शर्मा तथा अन्य सम्पूर्ण पदाधिकारीलाई प्रतिवादी बनाइ विश्वभर रहेका संघका सदस्यहरूको प्रतिनिधित्व गर्दै मंगलवार सर्वोच्च अदालतमा निवेदन दायर भएको हो।
सर्वोच्च अदालतको स्पष्ट आदेश अनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने थियो। तर, बद्री केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको आरोप छ। सचिवालयले तीन पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि कुनै कदम चालिएन। उच्चस्तरीय समितिले स्वयम् जिम्मेवारी लिनका लागि सम्पर्क गर्दा समेत बेवास्ता गरिएको थियो।
अध्यक्ष गाहा मगरले भने, ‘हामीसँग अब विकल्प थिएन। अदालतको आदेशलाई निरन्तर बेवास्ता गरिँदै आएकोले हामीले अन्ततः सर्वोच्च अदालतमा पुनः मुद्दा दर्ता गर्न बाध्य भयौँ।’
अब यस विषयमा सर्वोच्च अदालतको हस्तक्षेप र स्पष्ट निर्देशनले मात्र पारदर्शिता र विधिको शासन पुनः स्थापना गर्ने अपेक्षा गरिएको गाहा मगरले जनाए।



