काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा छ लाख भन्दा बढी रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष साउनदेखि चैत मसान्तसम्मको अवधिमा श्रम (नयाँ तथा पुनः) स्वीकृति लिएर छ लाख सात हजार ८७४ जना विदेसिएका हुन् ।
चैतमा मात्र ७३ हजार ४०३ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । जसमा पुरुष ६५ हजार ५६७ जना र महिला सात हजार ८३६ जना रहेका छन् । अघिल्लो महिनाको तुलनामा चैतमा विदेसिनेको संख्या बढेको छ । गत फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो संख्या चैतमा झण्डै साढे चार हजारले बढेको छ । २०८० चैतको तुलनामा गत चैतमा झण्डै तीन हजार बढीले श्रम स्वीकृति लिएको देखिएको छ ।
यसरी विदेसिनेमा पुरुषको संख्या पाँच लाख ३९ हजार ७१४ रहेको छ । उक्त अवधिमा ६८ हजार १६० जना नेपाली महिलाले रोजगारीका लागि मुलुका छाडेको तथ्यांक छ । अहिले दैनिक करिब दुई हजारको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीमा गइरहेको देखिन्छ ।
नेपाली श्रमिकहरुको पहिलो गन्तव्य युएई बनेको छ । पछिल्लो समय नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बनेको युएईमा २३ हजार ६७१ जना चैत महिनामा श्रम स्वीकृति लिएर गएका छन् । युएईपछि साउदी अरेबियामा १४ हजार ७७ जना गएको विभागले जनाएको छ ।
यसैगरी तेस्रो नम्बरमा परेको कतारमा ११ हजार १४५ जना गएका छन् । अघिल्ला वर्षहरुमा प्रमुख गन्तव्य बनेको मलेसियामा जाने संख्या भने न्यून बनेको छ । यद्यपि, धेरै श्रमिक जाने मुलुकको सूचीमा चौथो नम्बरमा परेको छ । मलेसियामा चैत महिनामा पाँच हजार ३४१ जना श्रम स्वीकृति लिएर गएको देखिन्छ । उक्त महिनामा कुवेतमा चार हजार ५७०, रोमानियामा दुई हजार ३४६, जापानमा एक हजार ७१२, दक्षिण कोरियामा एक हजार ४९८ जना, बहराइनमा एक हजार ३२३ जना र साइप्रसमा एक हजार ४९ जना गएको तथ्यांक छ ।
चैत महिनामा जिटुजी प्रणालीमार्फत एक हजार ३१८ जना दक्षिण कोरियामा रोजगारीका लागि पुगेका छन् । जसमा एक हजार १७० पुरुष र १४८ जना महिला रहेका छन् । यता इजरायलमा जिटुजीमार्फत नै २१६ जना गएको तथ्यांक छ । जसमा १३८ महिला र ७८ जना पुरुष रहेका छन् । चैत महिनामा वैदेशिक रोजगारीका लागि जानेमध्ये २९ हजार १८५ जना म्यानपावर कम्पनीमार्फत र १० हजार ४३५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ ।
चैत महिनामा सबैभन्दा बढी ४२ हजार ४५४ जना दक्ष कामदार विभिन्न मुलुकमा गएका छन् । यसैगरी २१ हजार ६९५ जना अदक्ष, आठ हजार ८९९ जना अर्धदक्ष, २७७ जना व्यावसायिक र ७८ जना उच्च दक्षता भएका कामदार बाहिरएको तथ्यांक छ ।



