Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

मलेसिया रोजगारीमा आत्महत्याको डरलाग्दो चित्र, एक वर्षमै गुमाए ६९ जनाले ज्यान

मलेसिया रोजगारीमा आत्महत्याको डरलाग्दो चित्र, एक वर्षमै गुमाए ६९ जनाले ज्यान

गत वर्ष वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएकामध्ये १७६ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

काठमाडौं । पछिल्लो दुई वर्षयता रोजगारीका लागि मलेसिया गएकाहरुले आत्महत्या गर्ने दर चिन्ताजनक देखिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गत वर्ष (२०८१)को वैशाखदेखि चैत मसान्तसम्म मलेसिया गएकामध्ये ६९ जना नेपाली श्रमिकले आत्महत्या गरेका छन् ।

मलेसियाको यो संख्या वैदेशिक रोजगारीका क्रममा उक्त वर्ष आत्महत्या गर्ने नेपालीको कूल संख्याको करिब ४० प्रतिशत हो । गत वर्ष वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएकामध्ये १७६ जनाले आत्महत्या गरेको तथ्यांक छ । मलेसिया सबैभन्दा बढी भदौमा १० जनाले आत्महत्या गरेको तथ्यांकमा देखिन्छ ।

images

यसैगरी २०८१ वैशाख र जेठमा नौ–नौ जना, असार र साउनमा पाँच–पाँच जना, असोजमा सात जना, कात्तिकमा चार जना, मंसिरमा तीन, पुसमा चार, माघमा तीन, फागुनमा पाँच र चैतमा पाँच जनाले मलेसियामा आत्महत्या गरेका बोर्डले जानकारी दिएको छ । पछिल्लो समय आत्महत्याका घटना धेरै आउनु चिन्ताजनक भएको बोर्डका अधिकारीहरुले बताएका छन् ।

गत वर्ष साउदीमा ३६, संयुक्त अरब इमिरेट्स (युएई)मा ३३, कतारमा २१ र कुवेतमा १२ जनाले आत्महत्या गरेका छन् । बहराइन र ओमानमा भने यस्तो संख्या न्यून पाइएको छ । त्यसैगरी खाडीबाहेकका मुलुकमा आत्महत्याको दर तुलनात्मक रुपमा कम छ ।अघिल्लो वर्ष २०८० सालमा मलेसियामा ५७, युएईमा २५, साउदीमा २६, कतारमा २५ र कुवेतमा चार जनाले आत्महत्या गरेका थिए । त्यस्तै वि.सं. २०७९ मा युएईमा २९, साउदीमा ४१, मलेसियामा २९, कतारमा २७ र कुवेतमा चार जनाले आत्महत्या गरेको तथ्यांक छ । २०७८ मा मलेसिया गएका २३ जनाले आत्महत्या गरेका थिए ।

विगत केही वर्षको तथ्यांकलाई तुलना गर्दा मलेसियामा २०८० सालबाट यसको दरमा वृद्धि भएको पाइन्छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा बोर्डबाट १०९ जनाको परिवारले आर्थिक सहायता लिएका छन् । रोजगारीमा गएर आत्महत्या गर्नेमध्ये झण्डै ९० प्रतिशतको हाराहारीमा खाडीमुुलुक जानेहरु रहेको बोर्डले जनाएको छ ।

मानसिक स्वास्थ्यका विषयमा यस्तो विकराल स्थिति देखिएको अवस्थामा सरकारले विशेष कार्यक्रम अघि बढाउनुपर्ने क्लिनिकल साइकोलोजिस्ट नवराज फुयाल बताउँछन् । विदेशमा गएर कसरी काम गर्नेजस्ता विषयमा तालिम दिइएजस्तै मानसिक स्वास्थ्य, खानपान, जीवनशैलीजस्ता विषय पनि तालिममा समावेश गरिनुपर्ने उनको भनाइ छ । विशेषगरी खाडी मुलुकमा गएका श्रमिकहरुले आत्महत्या रोज्नुको पछाडि फुयालले विभिन्न कारण औंल्याएका छन् ।

‘मलेसियालगायत खाडी मुलुक जानेहरु अधिकांश न्यून या मध्यम आयस्रोत भएकाहरु हुन्छन् । उनीहरु यहीँ हुँदा पनि आफ्नो सामाजिक, आर्थिक अवस्थाका कारण कम प्रतिस्पर्धी र आत्मविश्वास कम भएका हुन्छन् । उनीहरु नेपालबाट जाँदै मानसिक स्वास्थ्यको उच्च जोखिममा हुन्छन्,’ उनले भने । फुयालका अनुसार विदेशको फरक वातावरणमा यहाँको जस्तो ‘सेयरिङ एण्ड केयरिङ’को कल्चर हुँदैन । कतिपय श्रमिक भनेजस्तो काम गर्ने वातावरण, पारिश्रमिक आदिबाट वञ्चित हुन्छन् । यसले गर्दा श्रमिकहरुको मानसिक स्वास्थ्य दिनानुदिन बिग्रिँदै जाने उनको भनाइ छ । ‘त्यसपछि मेन्टरल डिसअर्डरहरु आउने र सुसाइडल थटसम्म पुग्ने गरेको पाइन्छ,’ उनले भने ।

फुयालका अनुसार हाम्रो समाजमा व्याप्त अस्वस्थ प्रतिस्पर्धाका कारण पैसा कमाउन सकेन भने हुत्तिहारा मान्ने प्रवृत्ति छ । यसले मानिसको क्षमतामा ह्रास आउने, हिनताबोध हुने गरेको उनको भनाइ छ । त्यसैगरी औद्योगिक क्षेत्रमा काम गर्नेहरु प्रकृतिसँग घुलमिल हुन नपाउँदा पनि यस्ता समस्याको सिकार हुँदै गएको उनी बताउँछन् । त्यस्तै, पछिल्लो समय सम्बन्ध बिग्रिएका घटनाहरु बढी हुँदा पनि विदेशमा रहेका श्रमिकहरु मानसिक समस्यामा पर्ने गरेको उनले बताए । ‘मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक नलिने हाम्रो बानी छ । यसबारेमा जनचेतना जगाउन आवश्यक छ,’ फुयालले भने ।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम वैदेशिक रोजगारीमा जाने कामदारलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रभावकारी अभिमुखीकरण दिन नसकिएको स्वीकार्छन् । ‘मानसिक स्वास्थ्यसम्बन्धी विषय पाठ्युस्तकमा छ । तर यसलाई विशेषज्ञमार्फत जसरी पढाइनुपर्ने हो त्यो गर्न हामीले सकेका छैनौं,’ उनले भने, ‘समस्या भएको विषय हामी सबैलाई थाहा छ । तर सरकारले न पाठ्यक्रम अद्यावधिक गराएको छ न हामीले माग गर्दै आएका विषयलाई सम्बोधन गरेको छ । अभिमुखीकरण कामचलाउजस्तो मात्र छ । हामी निरीह भएका छौं ।’

प्रभाव अनलाइनका लागि ममता थापा 

 

 

प्रतिक्रिया दिनुहोस
images
images
images
लोकप्रीय
सम्बन्धित समाचार