Oct 30 2026 | २०८३ कार्तिक १४ गते

राजावादी प्रदर्शन

दुर्गा प्रसाईं भारत पुगेको आशङ्का

दुर्गा प्रसाईं भारत पुगेको आशङ्का

शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौँ । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं भारत पुगेको आशङ्का गरिएको छ । चैत १५ मा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्व राजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्द गरिएको छ ।

    प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले प्रसाईंलाई खोजिरहेको छ । उनी विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रदर्शन बिथोलिएपछि तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर हिँडेका प्रसाई हालसम्म फेला परेका छैनन् । प्रसाईंको खोजीमा ३ वटा प्रहरी युनिट जुटेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘प्रसाईं भारत पुगेको आशङ्का गरिएको छ ।’

    images

    प्रसाईं चढेर गएको स्कोर्पियो इटहरीमा फेला परेको छ । स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका छन् । तीनकुनेबाट प्रसाईं ललितपुरको इमाडोलस्थित पुष्कर खतिवडाको घरमा पुगे । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडको खतिवडाले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार उनी इमाडोलबाट चापागाउँ पुग्छन् ।

    चापागाउँबाट फर्केर बनेपा हुँदै झापा गएको स्कोर्पियो चालकले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । काँकडभिट्टा हुँदै उनी पानीट्यांकीबाट भारत छिरेको प्रहरीको आशङ्का छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘दुर्गा प्रसाईं पानीट्यांकीबाट भारततर्फ लागेको हाम्रो आशङ्का छ, हामीले खोजी कार्य जारी राखेका छौँ ।’

    उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो धनी काठमाडौँको काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार