Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रदेशस्तरीय श्रमाधान रोजगार मेला : विराटनगरमा सम्पन्न, जनकपुरमा शुरु हुँदै

प्रदेशस्तरीय श्रमाधान रोजगार मेला : विराटनगरमा सम्पन्न, जनकपुरमा शुरु हुँदै

शनिवार, जेठ १९ २०८१
  • काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा कोशी प्रदेशको विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ सम्पन्न भएको छ । देशका सातै प्रदेशमा आयोजना हुने मेलाको उद्घाटन विराटनगरस्थित सिटी प्यालेसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको श्रमाधान रोजगार मेला सफलतापूर्वक सम्पन्न भएको बताएको छ । जेठ १७ र १८ गते गरी दुई दिन चलेको मेलामा पाँच हजारभन्दा धेरै अवलोकनका लागि आएको मन्त्रालयले बताएको छ । मेलामा करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

    images

    मेलामा रोजगारदाताले स्वास्थ्य क्षेत्रमा ४२ जना र उत्पादनमूलक उद्योगमा २ हजार ४ सय ९५ गरी २ हजार ५ सय ३७ जना दक्ष कामदार माग गरेका थिए । मेलास्थलमै ४० जनाभन्दा धेरैको रोजगारी सुनिश्चित भएको छ भने २ सय ५० भन्दा धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएको मन्त्रालयले बताएको छ ।

    मेलामा उद्योग प्रतिष्ठानका ३४, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ७, बैंक तथा वित्तीय संस्था र बीमासम्बन्धी ४ तथा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासहितका स्थानीय तहका रोजगार सूचना केन्द्रसमेत गरी ७ वटा स्टल राखिएका थिए ।

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा भएको मेलाको उद्देश्य आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने रहेको थियो । श्रम मन्त्रालय, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका मेलाको आयोजकका रुपमा रहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका छन्  । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनःएकीकरण परियोजना (रेमी)ले पनि मेलामा विशेष सहयोग गरेको मन्त्रालयले जनाएको छ ।

    शनिबारदेखि मधेश प्रदेशमा शुरु हुँदैछ । आइतबारसम्म हुने मेलाको तयारी पूरा भएको छ । मधेश प्रदेशको जनकपुरधाममा हुने मेलाको उद्घाटन श्रममन्त्री डोलप्रसाद (डिपी) अर्यालले गर्ने तयारी छ ।

    मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरूलगायत ३५ भन्दा बढी स्टलहरू रहने श्रम मन्त्रालयका उपसचिव एवम् मेलाका मधेश प्रदेश संयोजक दिपेन्द्र पौडेलले बताए । मेला जनकपुरधाम उद्योग वाणिज्य संघको सभा हलमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार