काठमाडौं । रुपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध उच्च अदालतमा दिएकाे निवेदन उपर हिजो सुनुवाई नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन् ।
सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतकाे आदेशविरुद्ध दिएकाे छुट्टाछुट्टै निवदनमा एकैपटक सुनुवाई हुने गरी हिजो उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासमा पेसी ताेकिएकाे थियाे ।
मुद्दा सुनुवाईका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर हिजै रुपन्देही पुगेका थिए । गाेला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टकाे इजलासमा सुनुवाई समेत ताेकिएकाे थियाे ।
तर, मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितकाे मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि सुनुवाई नभएकाे हाे ।
उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई जिल्ला अदालत रुपन्देहीले थुनामा राख्न दिएको आदेशलाई उच्चका न्यायाधीश थापाले केही समय अगाडि सदर गरेका थिए ।
सोही कारण जिल्लाबाट आएको सोही प्रकारको मुद्दामा आफ्नो धारणाा बनिसकेकाले आफूले हेर्न नमिल्ने बताएपछि पेसी अर्को हप्ताका लागि सारिएको छ ।
न्यायाधीश थापाकाे भनाइपछि आदालतबाट बाहिरिएका लामिछाने, उनका कानून व्यवसायी र सचिवालयका सदस्य हिजै काठमाडौं फर्केका छन् ।
यसैबीच, लामिछानेले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडाैं जिल्ला अदालतकाे आदेश विरुद्ध आज शुक्रबार पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका छन्।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडाैं जिल्ला अदालतले साठी लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।



