Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय समाचार

इजरायलद्वारा गाजामा हवाई आक्रमण, ४१३ को मृत्यु

इजरायलद्वारा गाजामा हवाई आक्रमण, ४१३ को मृत्यु

बुधवार, चैत्र ६ २०८१
  • इजरायली हवाई आक्रमणबाट गाजा पट्टीका विभिन्न स्थानमा मारिने प्यालेस्टाइनीको संख्या ४१३ पुगेको छ। गाजास्थित स्वास्थ्य अधिकारीका अनुसार आक्रमणमा कम्तीमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन्। धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले  प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

    ‘यस समयमा, आईडीएफ (इजरायल रक्षा बल) र शिन बेटले गाजा पट्टीभरि विद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,’ सेना र शिन बेटले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख, ‘विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन्।’

    images

    हमासले बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको इजरायलले जनाएको छ।

    हमासले भने जनवरी १९ मा लागू भएको युद्धविरामको इजरायलले उल्लंघन गरेको आरोप लगाएको छ। इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान पनि गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका महानिर्देशक मुनिर अल–बार्शले आक्रमणबाट ६ सय ६० भन्दा बढी घाइते भएको जनाएका छन्। उनका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर रहेको चिकित्सकहरूको भनाइ छ।

    इजरायल रक्षा बल (आईडीएफ)ले विज्ञप्ति जारी गर्दै हमाससँग सम्बन्धित ‘आतंककारीलाई लक्षित गर्दै’ आक्रमण पुनः सुरु गरेको जनाएको छ। आईडीएफले स्थानीय समयानुसार मंगलबार बिहान २ बजे आक्रमण सुरु गरेको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मध्य गाजाको देर अल–बलाह, गाजा सिटी, खान युनिस, रफाह लगायतका स्थानमा हवाई आक्रमण गरिएको हो। यो गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि सबैभन्दा ठूलो हवाई आक्रमण हो।हमासले इजरायलले निहत्था नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाएको छ। युद्धविराम उल्लंघन गरेकोमा मध्यस्थकर्ताहरूले इजरायललाई पूर्ण रूपमा जिम्मेवार ठहराउनुपर्ने हमासको भनाइ छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अबदेखि हमासविरुद्ध आईडीएफले बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने चेतावनी दिएको छ। यसअघि इजरायली प्रधानमन्त्रीको कार्यालयको एक विज्ञप्तिमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले मंगलबार बिहान हवाई आक्रमणका लागि आदेश दिएको’ उल्लेख छ।आक्रमणको योजना ‘आईडीएफले सप्ताहन्तमा प्रस्तुत गरेको र राजनीतिक नेतृत्वले स्वीकृत गरेको’ भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार