काठमाडौं । एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले धाँधली गरेको भन्दै अर्को कमिटी बनाएर नेतृत्व गर्दै आएका आरके शर्माले एनआरएनएमा एकताबाहेक अर्को विकल्प नभएको बताएका छन् । आइतबार कतार फर्किनुअघि पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले उच्चस्तरीय समितिलाई एकताको महाधिवेशन गराउन सबैले सहयोग गर्नुपर्ने बताए ।
‘नेपाल बसाईको अवधिमा सम्मानित राजनीतिक दलका नेता, नेपाल सरकारका मन्त्रीज्यूहरू, गैरआवासीय अभियन्ताहरूसँग भेट हुँदै गर्दा सबैको भावना एकताको महाधिवेशन तोकिएको समयमा हुनपर्छ भन्ने पाएँ’, उनले भने, ‘सबैको भावनाअनुसार एकताको महाधिवेशन गर्नुको विकल्प छैन र सर्वोच्च अदालतको परमादेश मान्नुबाहेक अर्को विकल्प पनि छैन ।’ सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले पनि आइतबार पत्र पठाएर एकताको लागि नै निर्देशन दिएको आफूले बुझेको शर्माको भनाइ छ ।
‘विश्वभरका ८० लाख गैरआवासीय नेपालीको बलमा एनआरएनए अभियानमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् र नागरिकताको कार्यान्वयनसहितका थप विषयमा उपलब्धि हासिल गर्नका लागि एकताबाहेक अर्को विकल्प पनि छैन’, उनले भने, ‘पक्कै पनि न्यायालयको आदेशअनुसार आगामी मेमा हुने महाधिवेशनमा सबै साथीहरू एकताबद्ध हुने विश्वासको लिएको छु ।’ उनले २० वर्षे आफ्नो एनआरएनए अभियानमा संस्थाको बृहत्तर हितका लागि कसले कति योगदान दियो भन्नेमा विश्वभरका अभियन्ताहरूको राम्ररी बुझेको समेत बताए ।



